काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सांसद पदबाट निलम्बन नगर्न रास्वपाले सभामुखलाई अनुरोध गरेको छ। सोमबार सिंहदरवारमा सभामुख देवराज घिमिरेलाई भेटेर रास्वपाका सांसदहरू सन्तोष परियार, सोबिता गौतम र गणेश पराजुलीले निलम्बन नगर्न आग्रह गरेका हुन्। सभामुख घिमिरेले भने, यस विषयमा छलफल जारी रहेको र संविधान, कानुन र संसद नियमावलीको आधारमा निर्णय गर्ने बताएका छन्।
रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा आइतबार मुद्दा दायर भएको छ। रास्वपाका नेताहरूले कांग्रेसका तत्कालीन सांसद टेकबहादुर गुरुङको मुद्दा उदाहरणस्वरूप प्रस्तुत गर्दै रविलाई निलम्बन नगर्नको तर्क गरेका छन्। गुरुङको मुद्दामा सर्वोच्च अदालतले सांसदको निलम्बनलाई संविधान र कानूनी दृष्टिकोणले असंवैधानिक ठहर गर्दै उनी सांसद पदमा पुनः बहाल भएका थिए।
प्रतिनिधि सभा सदस्य नियमावलीअनुसार कुनै पनि सदस्यलाई तीन वर्ष वा सो भन्दा बढी कैदको सजाय हुने फौजदारी मुद्दामा अदालतबाट थुनामा जानु परेमा त्यस अवधिमा सदस्यलाई निलम्बन गरिने व्यवस्था छ। रवि लामिछानेलाई २ कात्तिकमा पक्राउ गरिएको थियो र मुद्दा दर्ता भए अनुसार उनीलाई निलम्बन गर्ने विषय छलफलमा रहेको छ।