नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले लोकतन्त्र अहिले पनि खतरामा रहेको सुनि चिन्ता व्यक्त गरेका छन्। काठमाडौँमा नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेशले आयोजना गरेको कार्यक्रममा बोल्दै यादवले मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे चिन्ता व्यक्त गरे।
यादवले भने, “विद्यार्थी कालदेखि नै अधिकार प्राप्तिका लागि म लडाइँ लड्दै आएको हुँ। अहिले ८२ वर्षको भएँ, अझै पनि लोकतन्त्र खतरामा छ भनेर सुन्दा नराम्रो लागेको छ।” उनले थपे, “अर्को पुस्ताले लडाइँ लड्न पर्दैन भनेर हामीले आन्दोलनमा होमिएका हौँ। मलाई लाग्छ कि मानव सभ्यता उल्टो गियरमा गइराखेको छ। बडा नैतिकताको खडेरी छ।”
उनले नेपाल मात्र होइन, विश्वभर लोकतन्त्र क्षयीकरण हुँदै गएकोमा पनि चिन्ता व्यक्त गरे। उनले भने, “विश्वको आधाभन्दा बढी देशहरूमा निर्वाचन भए पनि त्यसले सुखद परिणाम नदिएको छ।” उनले भारतको उदाहरण दिँदै भने, “विश्वकै ठुलो प्रजातान्त्रिक मुलुक भारतमा घृणाको राजनीति बढ्दै जानु, र अमेरिकामा डोनाल्ड ट्रम्पको पुनरोउदयले लोकतन्त्र खतरामा रहेको संकेत गर्छ।”
यादवले पत्रकारिता क्षेत्रका बारेमा पनि टिप्पणी गर्दै पत्रकारले व्यवसायी धर्म छोड्न नहुने बताएका छन्। उनले भने, “डाक्टर, राजनीतिज्ञ, वकिलले, पत्रकारले व्यवसायी धर्म छोडे त्यो व्यापार हुने छ, यस बाटोमा गए प्रतिष्ठा नष्ट हुने तर्फ सचेत रहनु पर्छ।”