सिँजामा जल जंगल संवाद गोष्ठी सम्पन्न
सिँजामा जल जंगल संवाद गोष्ठी सम्पन्न
    • उमेश बुढा

    • ९ पुष २०८१, मंगलवार

जुम्ला।

प्राकृतिक स्रोत व्यवस्थापनमा महिला तथा जोखिममा रहेका समुदायहरूको मुद्दा सम्बोधन गर्न मंगलबार सिँजा गाउँपालिकाको होटल हिमाकर्णालीमा बहुसरोकारवालाहरूको संवाद गोष्ठी सम्पन्न भयो।

सहभागीहरूको उपस्थिति

सिँजा गाउँपालिकाभित्रका सामुदायिक वन समिति, जनप्रतिनिधि, वन कर्मचारी, शिक्षक, आमा समूह, अपाङ्गता भएका व्यक्ति, महिला स्वयंसेविका, सञ्चारकर्मी, र विषयगत शाखाका प्रमुखहरू यस गोष्ठीमा सहभागी थिए।

युएसएआईडीको “जग जंगल परियोजना” का वरिष्ठ कार्यक्रम अधिकृत भरत चौलागाईंका अनुसार यस गोष्ठीको उद्देश्य पारिस्थितिक प्रणालीको स्वास्थ्यमा सुधार ल्याउनु, वातावरणीय अपराध रोकथाम गर्नु, प्राकृतिक स्रोतको सुरक्षा गर्नु, र जलवायु उत्थानशीलता वृद्धि गर्दै मानव पारिस्थितिक प्रणालीमा सुधार गर्नु हो।

प्रमुख विषयहरू

सिँजा गाउँपालिका वन, वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक लालबहादुर बुढाले वन्यजन्तु र मानवको नजिकको सम्बन्ध भएकाले जल र जंगलको संरक्षणमा समस्या समाधानका व्यवहारिक उपाय खोज्नुपर्ने बताउनुभयो।

वनजंगलका समस्या र समाधानबारे सिँजा–६ स्याली पातल सामुदायिक वनकी कोषाध्यक्ष बसम बुढा रावतले मानिसहरूले वनमा हातहतियार र आगो लगाउने वस्तु नलिई प्रवेश गर्नुपर्ने, रुखको अनियन्त्रित कटान रोक्नुपर्ने र आगलागी नियन्त्रणमा ध्यान दिनुपर्ने बताउनुभयो।

चुनौतीहरू

गोष्ठीमा प्रस्तुत प्रमुख चुनौतीहरूमा जलवायु परिवर्तनका असरले पानीका मुहान सुकेर जानु, हिमपात कम हुनु, खडेरी पर्नु, कृषि उत्पादनमा कमी आउनु, र पहिरो जानु समावेश थिए। साथै, नदीमा विषादी प्रयोग गरी माछा मार्ने र डोजरको उपयोगले माछा दुर्लभ भएको तथा चोरी सिकारले वन्यजन्तुहरूको संख्या घटेको उपाध्यक्ष एवं गोष्ठीकी सभाध्यक्ष सितली रोकायाले बताउनुभयो।

निष्कर्ष

गोष्ठीले जल जंगलको संरक्षणमा सरकारदेखि समुदायसम्म सबैको भूमिका अपरिहार्य रहेको र यसको दीर्घकालीन व्यवस्थापनका लागि सबैको सचेतना आवश्यक रहेको निष्कर्ष निकालेको छ। “वन जंगललाई जोगाउन सकेमात्रै मानव जीवन सुरक्षित हुनेछ,” उपाध्यक्ष रोकायाले बताउनुभयो।

यो संवाद गोष्ठी युएसएआईडीले सिँजा गाउँपालिकामा सञ्चालन गरेको हो।

साताकाे चर्चित
सम्बन्धित