काठमाडौं
क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्म दिनको सम्झनामा आज विश्वभर क्रिसमस डे मनाइँदैछ। नेपालमा पनि यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरिएको छ।
आजभन्दा दुई हजार २५ वर्षअघि, डिसेम्बर २५ का दिन, इजरायलको वेथलेहेममा कुमारी मरियमबाट येशु ख्रीष्टको जन्म भएको विश्वास गरिन्छ। नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजका अनुसार येशु ख्रीष्टले मानव जातिलाई तीनवटा महत्वपूर्ण सन्देश—मुक्ति, प्रेम र शान्ति—दिएका थिए। यसै सन्देशका आधारमा क्रिसमस डे मुक्ति दिवस, प्रेम दिवस र शान्ति दिवसका रूपमा मनाउने गरिएको छ।
नेपालमा क्रिसमस डे विसं २०६३ पछि विशेष महोत्सवका रूपमा मनाउन थालिएको हो। विसं २०६३ देखि २०७४ सम्म यस अवसरमा सार्वजनिक बिदा दिइन्थ्यो। यद्यपि, विसं २०७५ देखि २०७७ सम्म क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइएको थियो। हाल विसं २०७८ देखि क्रिसमसमा सबैलाई सार्वजनिक बिदा दिन थालिएको छ।
नेपालमा हाल ३५ लाखभन्दा बढी क्रिश्चियन धर्मावलम्बी रहेको र १५ हजारभन्दा बढी चर्च निर्माण भइसकेको नेपाल ख्रिष्टियन महासङ्घले जनाएको छ। महासङ्घका अनुसार नेपालमा क्रिश्चियनका १३ वटै सम्प्रदायका चर्च छन्।
यस वर्ष क्रिसमसको मुख्य महोत्सव नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा आयोजना गरिएको छ। महासङ्घ मूल समारोह समितिको आयोजनामा हुने कार्यक्रममा सरकार र सबै प्रमुख राजनीतिक दलका प्रतिनिधिहरू सहभागी हुनेछन्।
पछिल्लो समय मुख्य सहरका प्रमुख स्थलहरूमा क्रिसमसको झिलिमिली देख्न पाइन्छ। ठमेल, बौद्ध, पोखरा, सौराहालगायत पर्यटकीय क्षेत्रमा क्रिसमस ट्रि सजावट र विशेष कार्यक्रमहरू आयोजना गरिएका छन्। यी सजावटले विशेषगरी विदेशी पर्यटकलाई आकर्षित गर्दै क्रिसमसको उत्सवलाई थप रौनक दिएको छ।
क्रिसमस डे केवल क्रिश्चियन धर्मावलम्बीको मात्र नभई, प्रेम, शान्ति र भाइचारा प्रवर्द्धन गर्ने सन्देशको माध्यमका रूपमा सबै समुदायले अपनाउने पर्व हो। यसले सबैलाई एक आपसमा माया, शान्ति र सहिष्णुता फैलाउन प्रेरित गर्छ।