काठमाडौँ ।
माननीय राष्ट्रपति रामचन्द्र पौडेलले चाडपर्वहरूको माध्यमबाट विभिन्न सांस्कृतिक पहिचान र धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता, र ऐक्यबद्धताको भावना अभिवृद्धि गर्न सहयोग पुग्ने उल्लेख गरेका छन्।
‘क्रिसमस डे’ को अवसरमा इसाई धर्मावलम्बीहरूमा सुख, शान्ति, र सुस्वास्थ्यको शुभकामना व्यक्त गर्दै, उनले यस्ता पर्वहरूले राष्ट्रिय एकतालाई थप मजबुत बनाउन योगदान पुर्याउने बताए।
इसाई धर्मावलम्बीहरूले हरेक वर्ष डिसेम्बर २५ मा जिसस क्राइस्टको जन्मदिनलाई धार्मिक एवं सांस्कृतिक उत्सवका रूपमा विविध कार्यक्रमसहित मनाउँदै आएका छन्।
यस अवसरमा काठमाडौँ, ललितपुर, भक्तपुर, पोखरा, र देशका विभिन्न स्थानहरूमा कार्यक्रमको आयोजना गरिँदै आइएको छ।
राष्ट्रपति पौडेलले ‘क्रिसमस डे’ ले आपसी विश्वास, प्रेम, र एकताको भावना प्रगाढ बनाउने प्रेरणा सबैमा प्रदान गरोस् भन्ने कामना गरेका छन्।