चोत्लुङ पार्क: याक्थुङ (लिम्बू) संस्कृतिको संरक्षण र पर्यटनको नयाँ गन्तव्य
चोत्लुङ पार्क: याक्थुङ (लिम्बू) संस्कृतिको संरक्षण र पर्यटनको नयाँ गन्तव्य
    • बेल संचार

    • १० पुष २०८१, बुधबार

तेह्रथुम ।

लालीगुराँस नगरपालिका-३ वसन्तपुरमा निर्मित चोत्लुङ ‘पार्क’ अब पर्यटनसँगै याक्थुङ (लिम्बू) संस्कृति अध्ययनको केन्द्रका रूपमा पनि विकसित भएको छ।

प्राकृतिक सौन्दर्य, सांस्कृतिक धरोहर र इतिहासको समृद्ध मिश्रण भएको चोत्लुङ पार्कमा परम्परागत वास्तुशिल्पमा बनेका घरहरू, ढुङ्गाबाट बनेका फलैँचा र बिसौनीले लिम्बू संस्कृति मात्र झल्काउँदैन, वरिपरिको वातावरणसँग मिलेर पार्कलाई आकर्षक बनाएको छ।

पार्कको बीचमा रहेका फुन्जिङ्बा पैंयू, सिङ्चाङ्गो याम्चाङ्गो (धसिङ्गरे), ते लासे (केरा), र लि सिङ्फा (मलिबाँस) जस्ता मुन्धुममा वर्णित वनस्पति र ढुङ्गाले पार्कको विशेषता र लिम्बू सांस्कृतिक पहिचानलाई अझ प्रकट गरेको छ।

सङ्ग्रहालयमा गोरखाका राजा पृथ्वीनारायण शाह र लिम्बूवानबीच भएका ऐतिहासिक सम्झौताका कागजातहरू, पुराना गरगहना, वेशभूषा, हातहतियार र परम्परागत उपकरणहरू सङ्ग्रहित छन्। यस सङ्ग्रहालयले लिम्बू संस्कृतिका इतिहास र परम्परासम्बन्धी अनुसन्धानका लागि महत्वपूर्ण स्रोतको रूपमा कार्य गर्दैछ।

चोत्लुङ पार्कको निर्माण कार्य २०७४ मा सुरु भएको थियो र अब यो एक सय रोपनीभन्दा बढी क्षेत्रफलमा फैलिएको छ। यस परियोजनामा प्रदेश सरकार, लालीगुराँस नगरपालिका र अन्य निकायहरूको योगदान छ। हालसम्म रु २ करोडभन्दा बढी खर्च भएको छ।

पार्कले आन्तरिक र बाह्य पर्यटकहरूको चासोको केन्द्र बनाएको छ। पर्यटकहरूले यहाँ पार्क र सङ्ग्रहालय अवलोकनका लागि शुल्क तिर्छन्, जसबाट गत वर्ष रु १४ लाख राजस्व सङ्कलन भएको छ।

चोत्लुङ पार्क मध्यपहाडी लोकमार्गको वसन्तपुर बजार नजिक अवस्थित छ र यसले पर्यटकहरूको आकर्षणका साथै लिम्बू सांस्कृतिक धरोहरको संरक्षणमा महत्त्वपूर्ण भूमिका निभाइरहेको छ।

साताकाे चर्चित
सम्बन्धित