काठमाडौं ।
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गुणस्तरीय बीउ बिजन किसानको पहुँचमा पुर्याउन सरकारी, निजी, र सहकारी क्षेत्रको भूमिकालाई महत्त्वपूर्ण बताउनुभएको छ।
नेपाल बीउ व्यवसायी संघको २६औं साधारणसभा तथा अधिवेशनमा उहाँले बीउलाई कृषि क्षेत्रको आधारस्तम्भको रूपमा परिभाषित गर्दै व्यवसायीहरूले समयमै गुणस्तरीय बीउ किसानसम्म पुर्याउन ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो।
मन्त्री अधिकारीका अनुसार उन्नत जातका बीउको प्रयोगले उत्पादन वृद्धि मात्र होइन, किसानको आयस्तर सुधार र देशको खाद्य सुरक्षा सुनिश्चित गर्न सहयोग पुर्याउँछ।
उनले गुणस्तरीय बीउ समयमै उपलब्ध गराउन सके कृषि उत्पादन १५ देखि २० प्रतिशतले बढ्ने तथ्य विश्वव्यापी रूपमा स्थापित रहेको स्मरण गराउनुभयो।
मन्त्री अधिकारीले बीउमा समस्या हुँदा खाद्य संकट निम्तिने चेतावनी दिँदै किसानलाई गुणस्तरीय बीउ नपुग्दा भएको आर्थिक क्षतिको क्षतिपूर्ति प्रदान गर्न राज्य निर्मम हुने बताउनुभयो। साथै, बीउ बिजन ऐन, २०४५ र बीउ बिजन नियमावली, २०८१ मा भएका व्यवस्थाहरूले निजी क्षेत्रको सहभागितालाई सहज बनाएको उल्लेख गर्दै उहाँले सरकार कानुनी, संरचनागत, र संस्थागत प्रबन्धमा सक्रिय रहेको जानकारी दिनुभयो।