प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा तमु ल्होसारको शुभकामना
प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा तमु ल्होसारको शुभकामना
    • बेल संचार

    • १५ पुष २०८१, सोमबार

काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गुरुङ समुदायको प्रमुख पर्व तमु ल्होसारको अवसरमा शुभकामना व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत गुरुङ समुदायलाई शुभकामना दिँदै नेपालका विविध संस्कृति र परम्पराहरूको महत्व झल्काएको सन्देश प्रकट गरे।

प्रधानमन्त्री ओलीले भनेका छन्, “संस्कृतिमा हामी नेपाली धेरै धनी छौँ। सबैलाई तमु ल्होसारको शुभकामना! तमु ल्होसार सम्झँदा शिरमा शिरबन्दी, शरीरमा मखमली चोली, घलेक, पटुकी, छिटको गुन्यू लगाएर मजेत्रो ओढेर घाटु, सोरठी र कौडा नाचेका गुरुङ महिला तथा भोटोमाथि भाङ्ग्रो लगाएर पटुकी र कछाड बाँधेर नाचेका पुरुषहरूको झल्झली सम्झना आउँछ।”

पुस १५ गतेको रात वर्षकै सबैभन्दा लामो हुने र त्यसपछि दिन क्रमशः बढ्दै जाने भएकाले तमु ल्होसारको विशेष सांस्कृतिक र प्राकृतिक महत्व रहेको बताइन्छ। यो पर्वले गुरुङ समुदायको सांस्कृतिक पहिचानलाई जीवन्त राख्दै उनीहरूको परम्परालाई उजागर गर्ने अवसर प्रदान गर्दछ।

प्रधानमन्त्री ओलीले नेपालका विविध संस्कृतिहरूले राष्ट्रिय एकता र सामाजिक सद्भावलाई मजबुत बनाउने विश्वास व्यक्त गर्दै यो पर्वले सबै नेपालीबीच मेलमिलाप र भ्रातृत्वको भावना थप प्रगाढ बनाओस् भन्ने कामना गरेका छन्।

साताकाे चर्चित
सम्बन्धित