गण्डकी।
कास्कीको मादी गाउँपालिका–१ मा रहेको कपुचे हिमताल कम उचाइमा रहेको विश्वकै विशेष हिमतालका रूपमा परिचित छ।
समुद्री सतहबाट २,४२१ मिटरको उचाइमा अवस्थित यो ताल १०,४४० वर्गमिटर क्षेत्रफलमा फैलिएको छ।
स्थानीय गुरुङ भाषामा “क्हफुचे” भनिने यस तालको नाम “क्ह” (हिउँ), “फु” (डल्लो), र “चे” (समथर भूभाग) शब्दबाट बनेको हो।
कपुचे हिमतालको प्रमुख आकर्षणमा हिमाल, हिमपहिरो, र तालको हरियो-निलो मिश्रित पानीमा घामको झल्को पर्ने दृश्य समावेश छ।
पर्यटकीय गाउँ सिक्लेसबाट ६ घण्टाको पैदलयात्रा गरेपछि कपुचे पुग्न सकिन्छ। मार्गमा पर्ने इदी झरना र हुगु क्षेत्र पर्यटकको लागि थप आकर्षणका केन्द्र हुन्।
मादी गाउँपालिकाले तालको पूर्वाधार विकासमा ध्यान केन्द्रित गर्दै गुरुङ सम्पदा पदमार्गलाई थप व्यवस्थित बनाउने योजना अघि सारेको छ।
स्थानीय गुरुङ संस्कृतिको जगेर्ना गर्दै पर्यटकीय होटेल तथा घोडचढीको पुनर्जागरणमा पहल गरिएको छ।
गुरुङ पर्यटन व्यवसायी संघले कपुचे, कोरी, क्होलासोथार, र याङ्जाकोट जोड्ने गुरुङ सम्पदा पदमार्गको प्रवर्द्धनलाई प्राथमिकता दिएको छ।
पोखराबाट छोटो दूरीमा रहेको कपुचे हिमताल स्वदेशी तथा विदेशी पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ।
यसको महिमा र गरिमा विश्व पर्यटन बजारमा पुर्याउन थप पहल आवश्यक रहेको पर्यटन व्यवसायीले बताएका छन्।