काठमाडाैं।
सन् २०२४ अन्तर्राष्ट्रिय रूपमा हवाई दुर्घटनाका कारण अत्यन्तै दुःखद वर्षको रूपमा दर्ज भएको छ। यस वर्ष ठूला विमान दुर्घटनाहरूले ठूलो मानवीय क्षति पुर्याए।
डिसेम्बर २९ मा दक्षिण कोरियाको मुआनमा १८१ यात्रु सवार जेजु एयरको विमान अवतरणका क्रममा दुर्घटनाग्रस्त हुँदा १७९ जनाले ज्यान गुमाए। दुई यात्रुलाई जीवितै उद्धार गरिएको थियो।
यसअघि डिसेम्बर २५ मा अजरबैजान एयरलाइन्सको विमान कजाकिस्तानमा दुर्घटनाग्रस्त हुँदा ३८ जनाको मृत्यु भएको थियो। डिसेम्बर महिनामात्रै ६ ठूला दुर्घटनामा २३४ जनाले ज्यान गुमाएका छन्।
यस वर्ष इरानी राष्ट्रपति इब्राहिम रइसी र मालीका उपराष्ट्रपति साउलोस क्लाउस चिलिमको विमान दुर्घटनामा मृत्यु भएको थियो। इरानी राष्ट्रपतिको हेलिकप्टर मे २० मा दुर्घटनाग्रस्त हुँदा उनीसहित चालक दलका सदस्यको मृत्यु भएको थियो।
नेपाल पनि यस वर्ष हवाई दुर्घटनाबाट अछुतो रहन सकेन। जुलाई २४ मा सौर्य एयरलाइन्सको विमान दुर्घटनामा १८ जनाको मृत्यु भयो भने अगस्ट ७ मा एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनामा पाँच जनाले ज्यान गुमाए।
वर्ष २०२४ का घटनाहरूले हवाई सुरक्षाका मापदण्ड र व्यवस्थापकीय क्षमतामाथि प्रश्न उठाएको छ। नेपालमा हवाई सुरक्षा र व्यवस्थापनमा सुधार भएको भनिए पनि सौर्य एयर र एयर डाइनेस्टी दुर्घटनाले गम्भीर चुनौती प्रस्तुत गरेको छ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)ले सन् २०३० सम्म मानवजन्य दुर्घटनाबाट हुने मृत्यु शून्यमा झार्ने लक्ष्य लिएको छ। तर, लगातार बढिरहेको यात्रु चापले सुरक्षामा थप ध्यान दिनुपर्ने देखिएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जिव गौतमका अनुसार, विश्वव्यापी रूपमा ५ अर्ब हवाई यात्रुको सङ्ख्या पुगेको छ, तर सुरक्षाका प्रश्नहरू अझै यथावत् छन्।
हवाई क्षेत्रका जानकारहरूले यो वर्षलाई हवाई इतिहासकै दुःखद् वर्षको रूपमा लिएका छन्। सुरक्षाका चुनौती समाधान गर्दै यात्रुलाई सुरक्षित यात्रा प्रदान गर्नु एभिएसन उद्योगको मुख्य प्राथमिकता बन्नुपर्ने देखिन्छ।