काठमाडौँ
२५ पुस २०८१ शर्मिला विश्वकर्मा, काठमाडौँ नेत्रहीन महिला संघ नेपालले पुस २४ गते २१ औ कमला स्मृति दिवसको अवसरमा दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूका बालबच्चाहरूलाई छात्रवृत्ति, शैक्षिक सामग्रीहरू, न्यानो कपडा तथा ब्लाङ्केट वितरण तथा सम्मान कार्यक्रमको आयोजना आयोजना गर्यो । दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरू विशेष गरी दृष्टिविहीन अपाङ्गता भएका महिलाहरूको हक हित र अधिकार स्थापनाका लागि आफ्नो जीवन नै समर्पित गर्नु भएको, महिला हिंसा न्यूनीकरणका लागि, दृष्टिविहीन महिलाहरूको शिक्षा, स्वास्थ्य, रोजगार, पुनर्स्थापनाका लागि आवाज उठाउने अपाङ्गता अभियन्ता कमला श्रेष्ठको २१ औ स्मृति दिवसका अवसरमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो । यसै अवसरमा आयोजक संस्था नेत्रहीन महिला संघकी अध्यक्ष सिता सुवेदीले कार्यक्रममा सहभागीहरूलाई स्वागत गर्दै अपाङ्गता अधिकारकर्मी कमला श्रेष्ठले अन्य अपाङ्गता तथा दृष्टिविहीन अपाङ्गता भएका व्यक्ति र विशेष गरी दृष्टिविहीन महिलाहरूको हक हित र अधिकार स्थापनाका लागि पुर्यायउनु भएको योगदानको स्मरण गर्दै वि.स.२०६० साल पुस २४ गते उहाँको देहान्त भएको र उहाँको सम्झनामा हरेक वर्षको पुस २४ गते कमला स्मृति दिवस मनाउने गरिएको बताउनु भयो ।
यस कार्यक्रममा स्वर्गीय कमला श्रेष्ठको सम्झनामा कमला स्मृति अक्षय कोषबाट ३ जना र वरिष्ठ चित्रकार तथा समाज सेवी हरी प्रसाद शर्मा पौडेलबाट १ जना उच्च शिक्षा अध्ययन गर्ने ४ जना दृष्टिविहीन महिलाहरूलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ । स्नातकोत्तर तह तर्फ १ जना, स्नातक तह तर्फ २ जना र + २ तर्फ १ जना गरी ४ दृष्टिविहीन महिलाहरूलाई छात्रवृत्ति प्रदान गरिएको छ । यस वर्ष स्वर्गीय कमला स्मृति अक्षय कोषबाट स्नातकोत्तर तर्फ पोखरा पृथ्वीनारायण क्याम्पसमा स्नातकोत्तर तहमा अध्ययनरत दृष्टिविहीन छात्रा रिता देवी थापा, स्नातक तह तर्फ मोरङकी विनीता सताल र बारा जिल्लाकी चम्पा कुमारी चौधरी र + २ तर्फ र वरिष्ठ चित्रकार तथा समाज सेवी हरि प्रसाद शर्मा पौडेल अक्षय कोषबाट हुम्लाकी दृष्टिविहीन छात्रा पाउसरा ऐदीलाई प्रदान गरियो ।
कार्यक्रमका प्रमुख अतिथि एवं केन्द्रीय प्याप्सनका उपाध्यक्ष तथा हिमालयन कलेजका निर्देशक सङ्गीता सिलवाल ऐरले स्वर्गीय कमला श्रेष्ठको फोटोमा माल्यार्पण गर्दै ३० जना दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूका बालबालिकाहरूलाई आफ्नो तर्फबाट ब्लाङ्केट वितरण गर्नु हुँदै कमला स्मृति अक्षय कोषको वृद्धि विस्तारको लागि ५० हजार नगद प्रदान गर्ने प्रतिवद्ता व्यक्त गर्नु भयो । साथै उहाँले दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूका सन्तानको शिक्षाको लागि के कस्तो व्यवस्था गर्न सकिन्छ यस विषयमा प्याप्सनको बैठकमा कुरा राख्ने भन्दै दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूको दृष्टि सम्बन्धी स्वास्थ्य उपचारमा पनि सक्दो सहयोग गर्ने र २ जना दृष्टिविहीन अपाङ्गता भएका अभिभावकका बच्चाहरूलाई आफैले पढाउने प्रतिबद्धता पनि व्यक्त गर्नु भयो ।
त्यसै गरी वरिष्ठ समाज सेवी ज्योति के.सी.ले यसै दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रममा सिराहा, सप्तरी, काठमाडौँ, नेपालगन्ज, कैलाली, बर्दिया, गोरखा लगायतका विभिन्न स्थानमा रहेका दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरू तथा दृष्टिविहीन एकल महिलाका छोराछोरीहरूको शिक्षाको लागि वार्षिक रूपमा छात्रवृत्ति प्रदान गर्दै आएको, दृष्टिविहीन अपाङ्गता भएका महिला तथा उनीहरूका सन्तानको शिक्षालाई निरन्तरता दिनको लागि सहयोगी व्यक्तिहरू भेटाइदिएको भन्दै आगामी दिनमा उनी दृष्टिविहीन अपाङ्गता भएका व्यक्ति र उनीहरूका सन्तानको शिक्षाको लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताउनु भयो ।
उक्त कार्यक्रममा दृष्टिविहीन एकल तथा उद्यमी महिला ज्ञानी माया श्रेष्ठ, शिक्षा विकास तथा समन्वय इकाई भक्तपुरमा कार्यरत शाखा अधिकृत सृजना ढकाल र पहिलो दृष्टिविहीन अधिवक्ता रोशनी अधिकारीलाई नगर सहित सम्मान पत्रद्वारा सम्मान पनि गरियो । यसै क्रममा १० जना दृष्टिविहीन अपाङ्गताका छोराछोरीलाई शैक्षिक सामाग्री अन्तर्गत स्कुल ब्याग, स्टेशनरी सामाग्रीहरू तथा कापीहरू प्रदान गरियो भने अस्ट्रेलिया निवासी समाज सेवी इन्द्र रिजालको सहयोगमा अवसरमा दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूका बालबच्चाहरूलाई न्यानो कपडा पनि वितरण गरिएको थियो । नेत्रहीन महिला संघ नेपालले पुस २४ गते आयोजना गरेको २१ औ कमला स्मृति दिवसको अवसरमा कमला स्मृति अक्षय कोषको वृद्धि विस्तारको लागि अन्तरदृष्टि समाजकी अध्यक्ष नन्दासिंहले रु ७ हजार हस्तान्तरण गर्नु भयो भने नेत्रहीन महिला संघकी अध्यक्ष सिता सुवेदी लगायतका दृष्टिविहीन अपाङ्गता भएका महिला तथा अन्य समाज सेवीहरूले पनि नगद रकम प्रदान गर्नु भएको थियो ।
साथै नेत्रहीन महिला संघकी पूर्व अध्यक्ष तथा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी उपसचिव निरा अधिकारीले पनि २ जना दृष्टिविहीन अपाङ्गताका सन्तानको शिक्षाको लागि वार्षिक रूपमा छात्रवृत्ति प्रदान गर्दै आएको आयोजक संस्थाका तर्फबाट जानकारी गराइएको थियो । कार्यक्रममा अष्ट्रेलिया निवासी समाज सेवी इन्द्र रिजालको सहयोगमा १३ जना दृष्टिविहीन महिलाहरुलाई न्यानो कपडा र नेपाल नेत्रहिन संघमा वरिष्ठ समाज सेवी डा. मदन मानन्धरद्वारा स्थापित अक्षय कोषबाट दृष्टिविहीन अभिभावकका १० बालबालिकाहरुलाई स्टेशनरी सामग्री वितरण गरिएको थियो । यस संस्थाले नेपाल नेत्रहीन संघ, वरिष्ठ समाज सेवी ज्योति के.सी., वरिष्ठ समाज सेवी डा. मदन मानन्धर, वरिष्ठ चित्रकार तथा समाज सेवी हरिप्रसाद शर्मा पौडेल, केन्द्रीय प्याप्सनका उपाध्यक्ष तथा हिमालयन कलेजका निर्देशक सङ्गीता सिलवाल ऐर र अस्ट्रेलिया निवासी समाज सेवी इन्द्र रिजालको सहयोगमा यो कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको छ ।