रौतहट।
लामो समयदेखि पर्सा राष्ट्रिय निकुञ्जबाट आएका जङ्गली हात्तीले रौतहट जिल्लामा ठूलो उपद्रो मच्चाउँदा स्थानीय बासिन्दा त्रसित बनेका छन्। हात्तीले चन्द्रपुर, गुजरा, बृन्दावन, र फतुवा विजयपुर नगरपालिकाको विभिन्न वडामा दिनहुँजसो बाली र घरहरूमा क्षति पुर्याइरहेका छन्।
यस वर्ष असारदेखि नै बसोबास गरिरहेका हात्तीले मकैबारी, केराखेती, आलुबारी, गहुँबारी तथा स्थानीय घरहरू भत्काउन थालेका छन्। चन्द्रपुर–३ गैँडाटार र जुडिबेलामा लगाइएको केराखेतीमा विशेष क्षति पुगेको छ। चन्द्रपुर–३ गैँडाटारका किसान लालबहादुर दोङका अनुसार हात्तीले करिब सात सय केराको बोट नष्ट गरेको छ। जुडिबेलामा हर्क घिसिङ, चमेली माया, लगायतका किसानको बिघौँबिघा जमिनमा लगाएको केराखेतीमा पनि हात्तीले ठूलो क्षति पुर्याएको छ।
गैँडाटारमा हरिशरण गौतम, दीपक गौतम, सम्पूर्ण चौहान, र अनिल भण्डारीको केराखेतीमा पनि विध्वंस भएको छ। साथै, खडानन्द गौतम, सोमप्रसाद गौतम, र बाबु योञ्जनको मकैखेतीमा पनि हात्तीले क्षति पुर्याएको छ। चन्द्रपुर नगरपालिकामा आठ र फतुवा विजयपुर नगरपालिका–११ मा चार घर हात्तीले भत्काएका छन्।
कालापानी सामुदायिक वन उपभोक्ता समूहको वनक्षेत्रमा निर्माण गरिएको उद्यान र पानीघट्टमा पनि हात्तीले क्षति पुर्याएको छ। फतुवा विजयपुर नगरपालिका–११ भैसही र बुटवा बस्तीमा चार घर भत्काइएको छ।
डिभिजन वन कार्यालयका प्रमुख हेमन्तप्रसाद साहले हात्ती नियन्त्रणका लागि ‘इनालाइजर’ उपकरण प्रयोग गर्नुपर्ने सुझाव दिएका छन्। उनले पर्सा राष्ट्रिय निकुञ्जका प्रमुखसँग परामर्श गरेर सो उपकरण खरिदका लागि नगरपालिकाहरूसँग सहयोग मागेको बताएका छन्।
हात्तीको उपद्रोबाट प्रभावित व्यक्तिलाई डिभिजन वन कार्यालयले क्षतिपूर्ति दिने भएको छ। हात्तीको आक्रमणबाट ज्यान गुमाएका, घाइते भएका, घर भत्काएका, र बालीमा क्षति पुगेका व्यक्तिहरूलाई क्षतिपूर्ति दिने प्रावधान रहेको प्रमुख साहले जानकारी दिएका छन्।