काठमाडौं ।
नेपाल क्रिकेट संघ (क्यान) ले मलेसियामा आयोजना हुने आईसीसी यू-१९ महिला टी २० विश्वकप खेल्न जाने नेपाली टोलीको बिदाई गर्ने उद्देश्यले काठमाडौंमा एक विशेष कार्यक्रमको आयोजना गरेको छ। यस कार्यक्रममा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, क्यानका उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्का लगायत क्यानका सदस्यहरू र महिला सिनियर टिमकी कप्तान इन्दु बर्माले नेपाली टोलीलाई शुभकामना दिँदै बिदाई गरेका थिए।
कार्यक्रममा क्यानका सचिव पारस खड्काले टोलीलाई कुनै प्रकारको दबाब नलिइकन आफ्नो खेल प्रदर्शनमा ध्यान केन्द्रित गर्न आग्रह गरे। यसका साथै, मन्त्री तेजुलाल चौधरीले उमेरमा सानो भए पनि नेपाली यू-१९ महिला क्रिकेट टोलीले उत्कृष्ट खेल प्रदर्शन गर्नेमा विश्वास व्यक्त गरे। उनले क्यानको पछिल्लो समयका प्रयासहरू र विद्यालय स्तरमा खेलाडी उत्पादनका लागि विद्यालयहरूसँग सहकार्य गर्न सकिने कुरा पनि उल्लेख गरे।
यू-१९ कप्तान पूजा महतोले क्यानले आफूलाई कप्तानको भूमिका दिएकोमा आभार व्यक्त गर्दै विश्वकपमा राम्रो प्रदर्शन गर्ने प्रतिबद्धता जनाइन्। उनले एसिया कपमा पाकिस्तानलाई हराएर राम्रो प्रदर्शन गरेका उल्लेख गर्दै, विश्वकपमा पनि इतिहास बनाउने प्रयास गर्ने कुरा पनि जोड दिइन्।
प्रशिक्षक महेश प्रसाद रिजालले प्रतियोगिताका लागि राम्रो तयारी गरिएको बताएका छन्। चितवनमा भएका प्रशिक्षणका बारेमा उनले भने, “हामीले राम्रो प्रशिक्षण गर्यौं र विश्वकपमा क्षमता प्रदर्शन गर्ने अवसर छ, राम्रो प्रदर्शन हुनेछ भन्ने आशा छ।”
सिनियर महिला टिमकी कप्तान इन्दु बर्माले पनि यू-१९ टिमलाई बधाई दिँदै, विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्न शुभकामना दिइन्।
नेपाली यू–१९ महिला क्रिकेट टोली शनिबार दिउँसो मलेसिया प्रस्थान गर्ने छ र विश्वकपमा भाग लिनको लागि तयारी गर्दैछन्। यस आयोजनाले नेपाली महिला क्रिकेटको इतिहासमा एक नयाँ अध्याय थप्ने अपेक्षा गरिएको छ।