नेपाल–भारत संयुक्त व्यापार मञ्चको दोस्रो बैठक सम्पन्न
नेपाल–भारत संयुक्त व्यापार मञ्चको दोस्रो बैठक सम्पन्न
    • बेल संचार

    • २७ पुष २०८१, शनिबार

काठमाडौं

नेपाल–भारत संयुक्त व्यापार मञ्च (जेबीएफ) को दोस्रो बैठक चन्द्रागिरी, काठमाडौंमा सम्पन्न भएको छ। बैठकमा नेपाल र भारतका प्रतिनिधिहरूले व्यापार र लगानी सहजीकरणका विभिन्न विषयमा छलफल गरे।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बैठकको स्वागत मन्तव्यमा नेपाल र भारतबीचको आर्थिक सम्भावनाबारे चर्चा गर्दै व्यापारिक समस्या समाधानका लागि नीतिगत सुधार र व्यवहारिक समाधान आवश्यक रहेको बताए। उनले गैर भन्सार अवरोध हटाउने, भारतीय प्रमाणीकरण प्रक्रियामा देखिएका समस्या समाधान गर्ने, र नेपालका नयाँ विमानस्थलहरूलाई भारतीय शहरहरूसँग जोड्ने विषयमा जोड दिए।

बैठकमा भारतीय बन्दरगाहहरूमा नेपालको पहुँच विस्तार, जलविद्युत र नवीकरणीय ऊर्जा, पर्यटन, कृषि, सूचना प्रविधि, र पूर्वाधार विकास लगायतका विषयमा छलफल भयो। दुवै पक्षले स्वच्छ ऊर्जा प्रवर्द्धन, सीमापार व्यापार सहज बनाउने, र औषधीय वनस्पतिहरूको अनुसन्धान र व्यावसायिकरणमा सहकार्य गर्ने सहमति जनाए।

बैठकमा भएका सहमति नेपाल र भारतका वाणिज्य सचिवलाई हस्तान्तरण गरियो। उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले जेबिएफको सहमति कार्यान्वयन गर्न दुवै पक्षले पहल गर्नुपर्ने बताए। भारतीय वाणिज्य सचिव सुनिल बर्थवालले सहमति कार्यान्वयनका लागि भारतले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

बैठकमा नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले दुई देशबीचको आर्थिक मुद्धामा यो बैठक महत्वपूर्ण रहेको बताए। मञ्चको अर्को बैठक भारतको नयाँ दिल्लीमा आयोजना गरिने सहमति भएको छ।

साताकाे चर्चित
सम्बन्धित