मकवानपुर ।
मकवानपुर जिल्ला प्रहरीले २ भारतीय नागरिकलाई २१ किलो ४६० ग्राम चरेस र ३ किलो ४७० ग्राम अफिमसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको हरियाणा राज्यका २५ वर्षीय कुनाल गोथ्वाल र २० वर्षीय मनिस कुमार रहेका छन्।
प्रहरीका अनुसार, इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको टोलीले शनिवार बिहान २ बजे थाहा नगरपालिका वडा नम्बर ११ नौखण्डे स्थित त्रिभुवन राजपथ सडकखण्डबाट उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीको जाँचका क्रममा भारतीय कारमा लुकाइराखिएका लागूऔषधहरू फेला परेका थिए।
यसैबीच, मकवानपुर प्रहरीले १०१ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ। हेटौँडा-१५, रातोमाटे चेकपोष्टमा गरिएको जाँचका क्रममा चितवनबाट वीरगन्ज जाँदै गरेको भारतीय कारबाट १०१ किलो गाँजा फेला परेको हो। पक्राउ पर्ने व्यक्तिको नाम राजन राउत कुर्मी (२० वर्ष) रहेको छ, जो पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका-२६, अठराह सुगौलीका निवासी हुन्।
प्रहरीले लागूऔषधसहित पक्राउ परेका सबै व्यक्तिहरूलाई नियन्त्रणमा लिइ थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ।