प्रथम महिला खुल्ला फुटसल च्याम्पियनसिप–२०८१ को तयारीबारे सगुन थापा मगरसँग विशेष कुराकानी
प्रथम महिला खुल्ला फुटसल च्याम्पियनसिप–२०८१ को तयारीबारे सगुन थापा मगरसँग विशेष कुराकानी
    • बिर बहादुर राना

    • २८ पुष २०८१, आईतवार

काठमाडौं

नेपालको फुटसल खेलकुद इतिहासमा नयाँ अध्यायको सुरुवात गर्दै प्रथम महिला खुल्ला फुटसल च्याम्पियनसिप–२०८१ यही पुष २९ गते सोमबार काठमाडौंको पेप्सीकोला टाउन प्लानिङ मा सुरु हुँदैछ। यो प्रतियोगिता महिला खेलाडीहरूलाई खेलकुदको क्षेत्रमा प्रोत्साहन गर्न र उनीहरूको प्रतिभालाई प्रस्फुटन गराउन आयोजित गरिएको हो।

प्रतियोगिता आयोजना गर्न एलिसन स्पोर्ट्स प्रा.लि. ले पहल गरेको हो। संस्थाका अध्यक्ष सगुन थापा मगरले बताउनुभएको छ कि यस प्रतियोगिताले महिला खेलाडीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने लक्ष्य राखेको छ।

एलिसन स्पोर्ट्स प्रा.लि.का अध्यक्ष सगुन थापा मगरसँग बेल संचारले गरेको कुराकानी

तयारी कस्तो अवस्थामा छ?

प्रथम महिला खुल्ला फुटसल च्याम्पियनसिप–२०८१ को तयारी अन्तिम चरणमा पुगेको छ। आजै ४ बजे टाइसिट तयार हुनेछ। अन्य व्यवस्थापकिय तयारीहरू पनि पूरा भइसकेका छन्। खेलाडीहरू मैदानमा भिड्नका लागि तालिम गरिरहेका छन्। हामीलाई विश्वास छ, खेल निकै प्रतिस्पर्धात्मक हुनेछ।

प्रतियोगिता आयोजना गर्ने सोच किन आयो?

मैले सानै उमेरदेखि फुटबलमा चासो राख्ने गर्थें। स्कुलबाट भागेर साथीहरूसँग फुटबल खेल्न जान्थें। तर, हाम्रो समयमा पढाइ बाहेक अन्य गतिविधिमा ध्यान दिनु हुँदैन भन्ने सोच थियो। अभिभावकहरूले पढाइमा मात्र जोड दिन्थे। त्यस समयमा सही मार्गदर्शन र अवसर पाएको भए सायद म जिल्लास्तरबाट माथि उठ्न सक्थें। तर, खेलप्रति मेरो रुचि कहिल्यै मरेन।

समयसँगै म सामाजिक र राजनीतिक क्षेत्रमा सक्रिय भएँ। नेपाल खेलकुद महासंघको विभिन्न पदमा बसेर जिम्मेवारी निर्वाह गर्ने मौका पाएँ। यसले मेरो पुरानो रुचिलाई पुनः जागृत गर्‍यो। राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न र उनीहरूलाई प्रोत्साहित गर्न मैले एलिसन स्पोर्ट्स प्रा.लि. को स्थापना गरेँ। यसै क्रममा पुरुष फुटसल प्रतियोगिता आयोजना गर्‍यौं। अब, महिला फुटसल प्रतियोगिता गर्दैछौं। महिलाहरूका लागि यस्ता प्रतियोगिताहरू निकै कम आयोजना हुने भएकाले उहाँहरूको प्रतिभा प्रस्फुटन गराउन यो प्रतियोगिता महत्वपूर्ण हुनेछ। हाम्रो उद्देश्य हो— फुटबललाई पेशा बनाउन चाहने महिला खेलाडीहरूलाई एक कोसेढुंगा उपलब्ध गराउने।

प्रतियोगितामा कस्ता महिलाहरू सहभागी हुँदैछन्?

हामीले प्रतियोगितालाई दुई विधामा विभाजन गरेका छौं— सिनियर महिला टिम र जुनियर महिला टिम। सिनियर महिला टिम: जुनसुकै उमेर समूहका महिलाहरूले टिम बनाएर सहभागिता जनाउन सक्नुहुनेछ। जुनियर महिला टिम: १७ वर्षभन्दा कम उमेरका बालिकाहरूले भाग लिन पाउनेछन्।  हाम्रो विचारमा फुटबल खेलिरहनु भएको महिलाले अवसर पाउनु हुने भयो । यसैगरी जो बालिकाहरु अघि बढ्न खोजिरहनु भएको छ उहाँले पनि अवसरबाट वञ्चित हुन परेन । यसो गर्दा सबै उमेर समुहका महिलाले सामुहिक अवसर पाउनु हुनेछ ।

प्रतियोगिताको आर्थिक पक्ष कसरी व्यवस्थापन गर्नुभयो?

आर्थिक व्यवस्थापन सबैभन्दा चुनौतीपूर्ण पक्ष हो। खेलाडी उत्पादनका लागि प्रतियोगिता आयोजनाको पनि ठूलो भूमिका हुन्छ। तर, प्रतियोगिता सञ्चालन गर्न गाह्रो हुने रहेछ। यो मेरो व्यक्तिगत पहलमा आयोजना गरिएको दोस्रो कार्यक्रम हो। पहिलो पुरुष फुटसल प्रतियोगितामा हामीले साथीभाइहरूबाट सहयोग लिएर सफलतापूर्वक कार्यक्रम सम्पन्न गर्‍यौं।

महिला फुटसल प्रतियोगिता आयोजना गर्दा केही आर्थिक चुनौतीहरू थिए। तर, यस पटक हामीलाई नेपालका प्रतिष्ठित ब्रान्डहरूको साथ प्राप्त भएको छ। कृषि विकास बैंक हाम्रो प्रमुख पुरस्कार प्रायोजक हो। त्यस्तै, नेपाल टेलिकम, एशियन थाई फुड्स, नेपाल एयरलाइन्स, आमा बेकरी, जोय प्रोडक्ट, पिंक भिल्ला, एमएस प्रोडक्सन प्रा.लि., सेन्ट्रल फेसन स्कुल, थिन सप, र एन्जल फेस जस्ता ब्रान्डहरू जोडिएका छन्। साथै, देश-विदेशमा बस्ने खेलप्रेमीहरूले पनि सहयोग गर्ने वाचा गर्नुभएको छ। हाम्रो मुख्य लक्ष्य नाफा कमाउनु होइन, महिला खेलाडीहरूलाई प्रोत्साहन गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउनु हो।

यस प्रतियोगितामा विशेष कुरा के छ?

महिला फुटसल प्रतियोगिता आफैंमा एउटा विशेष कुरा हो। पुरुष फुटसल प्रतियोगिता धेरै आयोजना हुने गरे पनि महिलाहरूका लागि त्यस्तो अवसर कम हुन्छ। यस पटकको प्रतियोगितामा एसडीएफसी टिम र इन्गेज डेफ टिम जस्ता फरक क्षमता भएका टिमहरू पनि सहभागी हुँदैछन्। उहाँहरूलाई प्रतियोगितामा सहभागी गराउन पाउँदा मलाई अत्यन्त खुसी लागेको छ। उहाँहरूलाई हाम्रो साथ र सहयोग आवश्यक छ। यदि कोही महानुभावले उहाँहरूलाई सहयोग गर्न चाहनुहुन्छ भने, हामी सम्पर्क स्थापित गराउन तयार छौं।

अन्त्यमा केही भन्नु मन ? सोध्न छुटाएको भन मन लागेको

यही पुष २९ गते सोमबार काठमाडौंको पेप्सीकोला टाउन प्लानिङ मा आयोजना हुने प्रथम महिला खुल्ला फुटसल च्याम्पियनसिप–२०८१ मा सहभागिता जनाउन र खेलाडीहरूको मनोबल बढाइदिनुहुन म सबैलाई हार्दिक अनुरोध गर्छु। खेलकुदबाट देशले अन्तर्राष्ट्रिय पहिचान बनाउन सक्छ। यसमा सबैको साथ र सहयोगको खाँचो छ। म सबैलाई सहयोग गर्न र कार्यक्रमलाई सफल बनाउन आग्रह गर्दछु।  धन्यवाद।।

 

साताकाे चर्चित
सम्बन्धित