बागलुङ ।
सहिदका नाममा बनाइएको बागलुङको काठेखोला गाउँपालिका–५ रिजालचोकदेखि अमरभूमि हुँदै ताराखोला गाउँपालिकाको केन्द्र जोड्ने सहिद मार्ग वर्षौँ बित्दा पनि स्तरोन्नति हुन नसक्दा स्थानीयवासीको जनगुनासो बढ्दै गएको छ। यो सडक स्तरीय नहुँदा सर्वसाधारणले जोखिम मोलेर यात्रा गर्न बाध्य छन्।
सरकारको स्थानीय तहलाई पक्की सडकमार्फत प्रदेश राजधानीसँग जोड्ने लक्ष्यअनुरूप चार वर्ष अघि नै उक्त सडकलाई कालोपत्रका लागि छनोट गरिएको थियो। स्थानीय पूर्वाधार आयोजना विकास कार्यालयको आयोजना छनोट समितिले गरेको निर्णय कार्यान्वयनमा भने आउन सकेको छैन। गाउँपालिका अध्यक्ष धनबहादुर विक ‘हिमाल’का अनुसार सहिद मार्ग स्तरोन्नति र कालोपत्रका लागि गाउँपालिकाले पहल नगरेको होइन, तर गाउँपालिकाको मात्र प्रयासले यो सम्भव हुन सकेन। उनले जनस्तरबाट व्यापक दबाब सिर्जना नगरेसम्म सरकारले आवाज सुन्ने अवस्था नरहेको बताए।
अध्यक्ष विकले सरकारको प्राथमिकतामा नपरेका कारण यो योजना अलपत्र परेको गुनासो गरे। पोखरास्थित पूर्वाधार आयोजना विकास कार्यालय मातहतको आयोजना छनोट समितिले यो सडक कालोपत्रका लागि छनोट गरी केन्द्रमा सिफारिस गरे पनि कार्यान्वयनमा भने प्रगति भएको छैन। बीस किलोमिटर दूरीको उक्त सडकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरेर छिट्टै सडक कालोपत्र गरिने आशाले स्थानीयवासी उत्साहित भए पनि योजना नै अलपत्र पर्दा उनीहरू निराश भएका छन्।
जनयुद्धका बेला तत्कालीन माओवादी कार्यकर्ता र जनसमुदाय मिलेर खोलेको यो सडकलाई पछि गाउँपालिकाले ‘सहिद मार्ग’ नाम दिएको थियो। मार्ग खुलेको वर्षौँ बितिसक्दा पनि सडक विस्तार र कालोपत्र हुन नसक्दा स्थानीयवासी वर्षात्का बेला पहिरोको समस्या र हिउँदमा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। वर्षात्मा गएका पहिरो व्यवस्थापन नहुँदा हिउँदमा पनि यात्रा जोखिमपूर्ण हुने गरेको छ। वर्षात्का बेला सडक बन्द हुने र सामान्य मर्मतसम्भार पनि हुन नसक्दा समस्या थपिएको छ।
ताराखोला गाउँपालिकाको केन्द्र अर्गलको भातखाने डाँडा जोड्ने उक्त सडक राज्यको नजरमा पर्न नसकेको स्थानीयवासीले गुनासो गरेका छन्। सहिद मार्गमा पर्ने थवारको घुम्ती, मनझाँक्रीको किल्ला, थारखेतसहित कैयन ठाउँको सडक जोखिमपूर्ण रहेको उनीहरूको भनाइ छ। स्थानीयवासीको समस्यालाई सम्बोधन गर्न नालीसहितको पक्की सडक बनाउनुपर्ने ताराखोला–१ का अध्यक्ष यमबहादुर श्रीसले बताए। उनले कालोपत्र नगरेसम्म सहिद मार्गको समस्या ज्यूँकात्यूँ रहने धारणा व्यक्त गरे।
राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी पुष्पलाल लोकमार्गसँग जोडिने उक्त सडक कालोपत्रका लागि झन्डै ७० करोड रुपैयाँको लागत अनुमान गरिएको छ। योजना कार्यान्वयनमा आए सङ्घ सरकारको ७०, प्रदेशको १० र गाउँपालिकाको २० प्रतिशत लागत साझेदारी हुने जनाइएको छ। पक्की सडकसँग जोडिएमा यात्रुको आवागमन सहज हुनुका साथै ताराखोलाको स्थानीय उत्पादनलाई बजारीकरण गर्न समेत सघाउ पुग्ने अपेक्षा गरिएको छ। कृषि, पशु, र वनजन्य उपजका दृष्टिले धनी मानिने ताराखोलामा सडक स्तरोन्नति नहुँदा अहिले सदरमुकामसम्म पुग्न घण्टौँ यात्रा गर्नुपर्ने बाध्यता छ। सडक कालोपत्र भएमा भने लोकमार्ग हुँदै प्रदेश राजधानी पोखराको यात्रा सहज र छरितो हुने देखिन्छ।