मनाङमा ढिलो गरी भएको हिमपातले स्थानीयमा खुसीयाली
मनाङमा ढिलो गरी भएको हिमपातले स्थानीयमा खुसीयाली
    • बेल संचार

    • २९ पुष २०८१, सोमबार

काठमाडौं ।

हिमाली जिल्ला मनाङमा पुसको अन्तिम सातामा भएको हिमपातले स्थानीयवासीलाई खुसी बनाएको छ। लामो समयसम्म हिमपात नहुँदा चिन्तित मनाङवासी अहिले हिउँ परेपछि राहत महसुस गरिरहेका छन्। यसवर्ष मङ्सिरदेखि हिउँ पर्ने क्रम ढिलो भएकोले पुसको अन्तिम सातामा मात्रै हिमपात भएको हो।

ङिस्याङ गाउँपालिका–१ पिसाङका किसान मुखिया गुरुङका अनुसार ढिला गरी भए पनि हिमपातले केही आशा दिएको छ। उनले भने, ‘भारी हिमपात नभए पनि शुरूआत राम्रो छ, यसले खेतीपातीलाई फाइदा पुर्याउनेछ।’ हिउँ परेपछि जमिन भिजेर मलिलो हुने र बालीनाली सप्रिने उनको धारणा छ। साथै, हिमपातले यार्सागुम्बा, निरमंसी, पाँचऔंले, चिराइतो जस्ता बहुमूल्य जडीबुटी उत्पादनमा वृद्धि हुने आशा गरिएको छ।

नासो गाउँपालिका–८ ताचैका यज्ञ घलेले हिमपात नहुँदा पर्यटन व्यवसायमा नकारात्मक असर परेको बताएका छन्। हिमाली जिल्लाको प्रमुख आकर्षण प्राकृतिक सौन्दर्य भएकाले हिउँले पर्यटकलाई आकर्षित गर्ने उनको भनाइ छ। जलवायु परिवर्तनका कारण समयमा हिमपात नहुँदा अन्नपूर्ण, गङ्गापूर्ण, लमजुङ लगायतका हिमालहरू कालापत्थरमा परिणत हुने जोखिम बढेको छ।

जिल्लाको माथिल्लो क्षेत्रमा फाट्टफुट्ट हिमपात भए पनि तल्लो भागमा अझै हिउँ पर्ने सङ्केत नदेखिएको नासो गाउँपालिका–५ का वडाध्यक्ष थुतेन लामाले जानकारी दिएका छन्। हिमपात नहुँदा आलु, उवा, फापर जस्ता बाली छर्ने काम पनि प्रभावित भएको उनले बताए।

साताकाे चर्चित
सम्बन्धित