जनशक्ति र बजार अभावले पर्वतको अल्लो प्रशोधन उद्योग बन्द
जनशक्ति र बजार अभावले पर्वतको अल्लो प्रशोधन उद्योग बन्द
    • बेल संचार

    • २९ पुष २०८१, सोमबार

पर्वत ।

पर्वतको विकट गाउँ मोदी गाउँपालिका–३ देउरालीस्थित घुरूङ्गामा सञ्चालन भएको अल्लो प्रशोधन गर्ने आधुनिक उद्योग जनशक्ति अभाव र बजारको कमीले दुई वर्षदेखि बन्द भएको छ। पोखरा विश्वविद्यालय र कोरियाको हाङदोङ विश्वविद्यालयको पहलमा २०७४ सालमा झण्डै रू २० लाखको लागतमा सञ्चालनमा आएको यो उद्योग २०७८ सालदेखि अलपत्र परेको हो।

स्थानिय टेकबहादुर पुनका अनुसार, बढ्दो बसाइँसराइका कारण जनशक्ति कम हुँदै गएकाले उद्योगलाई बन्द गर्नुपरेको हो। परम्परागत रूपमा प्रशोधन गर्दा लागत र श्रम बढी लाग्ने भएकाले नयाँ प्रविधि भित्र्याइएको थियो। उद्योगबाट गुणस्तरीय भुवा उत्पादन गर्न सकिने भए पनि कच्चापदार्थ सङ्कलन गर्ने जनशक्ति नहुँदा उद्योग बन्द गर्नुपरेको उद्यमी रनमाया पुनले बताइन्।

गाउँमा बसाइँसराइ दर तीव्र रूपमा बढेकोले जनशक्तिको कमी र उत्पादन गरेको कपडाको बजार अभावले गर्दा उद्योग बन्द भएको हो। अहिले गाउँमा बाँकी रहेका केही महिलाहरू परम्परागत रूपमा अल्लो प्रशोधन गरी निर्वाहमुखी पेसालाई जोगाउँदै आएका छन्। मोदी गाउँपालिकाका उपाध्यक्ष बिमल लामिछानेले स्थानीय महिलाहरू उद्यम सञ्चालनमा सक्रिय भए गाउँपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

साताकाे चर्चित
सम्बन्धित