पश्चिम तराईमा चिसोले जनजीवनमा कष्ट, स्वास्थ्यमा समस्या
पश्चिम तराईमा चिसोले जनजीवनमा कष्ट, स्वास्थ्यमा समस्या
    • बेल संचार

    • २ माघ २०८१, बुधबार

खजुरा ।

पश्चिम तराईमा चिसो बढेपछि यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ। बाँकेको नेपालगञ्ज, कोहलपुर, खजुरा, नरैनापुरलगायतका क्षेत्रहरूमा अत्यधिक चिसो र शीतलहरले जनजीवनमा ठूलो कष्ट पुर्याएको छ। ती क्षेत्रमा बिहानैदेखि शीतलहर र बाक्लो हुस्सुले चिसो बढाएको छ।

नेपालगञ्जका स्थानीय रामसुहावन यादवले बताए अनुसार, “चिसोले बजार र सहरी क्षेत्रमा चहलपहल घटेको छ। सडकमा सवारीसाधन कम चलेका छन् र बिहान करिब दुई घण्टासम्म शीतलहर चल्ने गरेको छ।” उनले थपे, “चिसोले गर्दा घरबाट बाहिर निस्कन सकिएको छैन। यहाँका मान्छे अत्यावश्यक कामबाहेक बाहिर निस्केका छैनन्।”

चिसोको असर ज्यालादारी काम गर्ने श्रमिकहरूमा विशेषगरी परेको छ। बाँके डुडुवा गाउँपालिकाका मजदुर रामदिन गोडियाले भने, “काम नगर्दा परिवार चलाउन मुस्किल पर्छ। यदि चिसो यस्तै रह्यो भने समस्या झन् गहिरो हुनेछ।” दैनिक ज्यालादारी काम गर्न पहाड र भारतीय सीमावर्ती क्षेत्रबाट तराईका जिल्लामा सर्वसाधारण झर्ने गर्छन्।

दिनभरि एकपटक पनि घाम नलाग्दा काम गर्न नसक्ने अवस्था बनिरहेको छ, यसै कारण बालकराम गोडियाले भने, “हामी यहाँ आगो बालेर न्यानो लिइरहेका छौं। घरबाट बाहिर जान सक्ने अवस्था छैन, त्यसैले घरमा बसेर आगो तापिरहेका छौं।”

चिसोले विशेषगरी विद्यार्थी, मजदुर, बालबालिका, गरिब असाहय, र ज्येष्ठ नागरिकलाई बढी प्रभावित बनाएको छ। चिसोका कारण बिरामीसमेत बढेका छन्। भेरी अस्पतालका सूचना अधिकारी डा. संकेत रिसालका अनुसार, “चिसोले गर्दा बालबालिका, दीर्घरोगी, मुटु, मिर्गौला, फोक्सो, मधुमेह जस्ता रोगका बिरामीहरूलाई समस्या भइरहेको छ।”

चिसोको कारणले दम, निमोनिया, रुघाखोकी, ज्वरोलगायत रोगका बिरामी पनि अस्पतालमा बढेका छन्। स्वास्थ्यकर्मीहरूलाई चिसोको असरबाट बच्नका लागि सर्तकता अपनाउन र स्वास्थ्य सेवा प्रवाहमा चुनौतीको सामना गर्नुपर्ने अवस्था उत्पन्न भएको छ।

यस कारण, पश्चिम तराईका विभिन्न क्षेत्रमा मानिसहरू चिसोबाट जोगिन घरमा आगो तापेर बसेका छन् र स्वास्थ्यमा आएका समस्याहरूलाई ध्यानमा राख्दै स्थानीय प्रशासनले थप तयारी र सावधानीको उपाय अपनाउनुपर्ने आवश्यकता देखिन्छ।

साताकाे चर्चित
सम्बन्धित