पाँच महिनामा देशभरका विभिन्न जिल्लामा एक हजार एक सय १६ वटा आगलागीका घटना भएका छन्। ती घटनामा १६ जनाको मृत्यु भएको छ भने १ सय ४५ जना घाइते भएका छन्। नेपाल प्रहरीका प्रवक्ता र वरिष्ठ उपरीक्षक विश्वराज अधिकारीले ती आगलागीका घटनाबाट १ सय ९० घर, १ सय ३० गोठ, एक सरकारी कार्यालय र ४ सय ५५ पशुचौपायको क्षति भएको जानकारी दिएका छन्।
प्रवक्ता अधिकारीका अनुसार आगलागी नियन्त्रण गर्नका लागि आठ हजारभन्दा बढी प्रहरी परिचालन गरिएको थियो। यसैगरी, आगलागीबाट करिब ५० करोड रुपैयाँ बराबरको क्षति भएको र २९ परिवार विस्थापित भएको बताएका छन्।
आगलागीका घटनाहरू सबैभन्दा बढी कोशी प्रदेशमा देखिएका छन्, जहाँ ३ सय ३१ स्थानमा आगलागी भएको छ। प्रहरीद्वारा मंगलबार सार्वजनिक गरिएको विवरणअनुसार, मधेश प्रदेशमा २ सय ६९, बागमती प्रदेशमा ७०, काठमाडौँ उपत्यकामा १ सय ४०, गण्डकी प्रदेशमा ८१, लुम्बिनी प्रदेशमा १ सय १४, कर्णाली प्रदेशमा ५१ र सुदूरपश्चिम प्रदेशमा ६० वटा आगलागीका घटना भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले बताए अनुसार, दैनिक रूपमा आगलागीका घटना भइरहेका छन्। हिजो मात्रै देशभरका १९ ठाउँमा आगलागी भएको छ। ती घटनामा दुई जना घाइते भएका छन्।
प्राधिकरणले आगो, विद्युत् र ग्यासका सामग्री प्रयोग गर्दा विशेष सावधानी अपनाउन सबैलाई अनुरोध गरेको छ। विद्युत् सर्ट, ग्यास चुहिएर र जाडो मौसममा आगो ताप्दा असावधानीका कारण आगलागीका घटनामा वृद्धि भइरहेको भट्टराईले बताए।
देशभरका विभिन्न क्षेत्रहरूमा आगलागीका घटनाहरू लगातार भइरहेका कारण यस किसिमका दुर्घटनाहरूबाट बच्न थप जनचेतना र सुरक्षा उपायहरूको आवश्यकता भएको छ। आगलागीका घटनामा भएको ठूलो क्षति र हताहतीले जनजीवनमा गम्भीर असर पुर्याएको छ।