काठमाडौं ।
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपा सभापति रवि लामिछानेको थुनछेकसम्बन्धी बहसको सुनुवाइ सम्पन्न भएको छ। सरकारी वकिल, जाहेरकर्ताका कानुन व्यवसायी, र रवि लामिछानेका पक्षका कानुन व्यवसायीहरू बीचको बहस र जवाफी बहसपछि सुनुवाइ सकिएको हो।
सुनुवाइको अन्तिम चरणमा रवि लामिछानेले संक्षिप्त भनाइ राखेपछि न्यायाधीश माधवप्रसाद अधिकारीले सुनुवाइ समाप्त भएको घोषणा गर्दै सबैलाई इजलासबाट बाहिर जान आदेश दिए।
यसअघि सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा ६५ लाख धरौटी बुझाएर रिहा भएका लामिछाने, आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भए।
त्यस दिन समय अभावका कारण बहस अघि बढ्न नसकेपछि न्यायाधीश अधिकारीले उनलाई न्यायिक हिरासतमा पठाउन आदेश दिए।
सोमबार सरकारी वकिलहरूले पुर्पक्षका लागि थुनामा राख्नुपर्ने माग गर्दै बहस गरे। त्यसै दिन जाहेरवालाहरूका तर्फका वकिलहरूले पनि बहस गरे। आज भने रविका तर्फका वकिलहरूले बहस गरेका थिए।
रवि लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त, रमण श्रेष्ठ, सुरज बस्नेत, र सुरेन्द्र काफ्लेले बहस गरे भने अधिवक्ता राजेन्द्र सेढाइँले बहस छोट्याउने प्रयास स्वरूप बहस नोट मात्र बुझाएका छन्।