काठमाडौं ।
जिल्ला अदालत काठमाडौंले पूर्वगृहमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ।
स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा थुनछेक बहसपछि न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले उनलाई धरौटीमा रिहा गर्न आदेश गरेको हो।
यो आदेशपछि लामिछाने पक्षले धरौटी बुझाउने तयारी गरिरहेको छ।
लामिछाने सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा ६५ लाख रुपैयाँ धरौटी बुझाएर गत बिहीबार मात्र छुटेका थिए। उनी ८४ दिन प्रहरी हिरासतमा थिए।
कास्की जिल्ला अदालतको आदेशपछि, प्रहरीले उनलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउने क्रममा परिवारको जिम्मामा पठाएको थियो।
रवि आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए। स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाइएको छ।