पर्सा ।
सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा रु २३ अर्ब ३४ करोड ३३ लाख १८ हजार राजस्व सङ्कलन गरेको छ। यो कूल वार्षिक लक्ष्यको ३८ दशमलव ८७ प्रतिशत मात्र हो।
गत आवको छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा राजस्व सङ्कलनमा रु १ अर्ब ४५ करोड ४१ लाख ७९ हजारको कमी आएको छ। कार्यालयले चालु आवको साउन महिनामा रु ३ अर्ब ७५ करोड २२ लाख, भदौ महिनामा रु ४ अर्ब ६४ करोड ३० लाख, असोज महिनामा रु ४ अर्ब ३६ करोड ४५ लाख, र कात्तिक महिनामा रु ३ अर्ब ७९ करोड २९ लाख राजस्व सङ्कलन गरेको थियो।
त्यसैगरी, मङ्सिर महिनामा रु ३ अर्ब २२ करोड ८४ लाख र पुस महिनामा रु ३ अर्ब ५६ करोड २१ लाख राजस्व सङ्कलन गरिएको थियो। गत आवको छ महिनामा भने रु २४ अर्ब ७९ करोड ७४ लाख ९७ हजार राजस्व सङ्कलन भएको थियो।