काठमाडाैं ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बेलायती संसद्को नेपाल हेर्ने सर्वदलीय संसदीय समितिका अध्यक्ष अलेक्स बेकरसँग भेटवार्ता गरेका छन्। बेलायत भ्रमणमा रहेका नेता कोइरालाले लण्डनस्थित नेपाली राजदूतावासमा आज बेकरसँग भेटवार्ता गरेका हुन्। यस भेटमा उनले दुई महत्त्वपूर्ण विषयहरू उठाएका छन्, जसमा भूतपूर्व गोर्खा सैनिकहरूको सेवासुविधासम्बन्धी समस्याको समाधान र ब्रिटिश एअरवेजको लण्डन-काठमाडौं सिधा हवाई उडान सुरु गर्नु प्रमुख रहेका छन्।
सचिवालयका अनुसार, कोइरालाले भेटमा जलवायु परिवर्तनका कारण नेपाल संकटमा परेको र हिमालहरूमा पग्लने हिउँले नेपालका प्राकृतिक दृश्यलाई कुरूप बनाइरहेको भन्दै, जलवायु परिवर्तनका कारण नेपालले निकै ठूलो क्षति भोगेको उल्लेख गरे। उनले नेपालले यसका लागि क्षतिपूर्ति पाउनुपर्ने र त्यसमा बेलायतले सहयोग गर्नुपर्ने कुरा पनि उठाए। बेकरले उक्त मुद्दामा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
भेटघाटमा बेलायतका लागि कार्यबाहक राजदूत विपिन दुवाडी पनि उपस्थित थिए। यसअघि, कोइरालाले बेलायती कन्जरभेटिभ पार्टीका नेता जेम्स क्लेभर्लीसँग पनि भेटघाट गरेका थिए। साथै, बुधबार उनले तत्कालीन शान्ति प्रक्रियामा महत्त्वपूर्ण भूमिका खेलेका अनमिनका नेपाल प्रमुख इयान मार्टिनसँग पनि भेट गरेका थिए।