सांस्कृतिक संरक्षणमा बोटे समुदायलाई सहयोग गर्न प्रचण्डको आह्वान
सांस्कृतिक संरक्षणमा बोटे समुदायलाई सहयोग गर्न प्रचण्डको आह्वान
    • बेल संचार

    • ३ माघ २०८१, बिहीबार

 मुग्लिन ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोटे समुदायको संरक्षण र विकासलाई राज्यले प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।

चितवनको माडी नगरपालिका–१ बडुवामा रहेको सोमेश्वर माध्यमिक विद्यालयको स्वर्णजयन्ती समारोहमा सहभागी हुन आएका प्रचण्डले बोटे समुदायको ऐतिहासिक र सांस्कृतिक महत्वबारे चर्चा गर्दै यसको संरक्षण र प्रगतिमा राज्यको जिम्मेवारीप्रति ध्यानाकर्षण गराए।

कार्यक्रमको अवसरमा प्रचण्डले स्थानीय बोटे समुदायद्वारा सञ्चालित ‘बोटे सामुदायिक होमस्टे’को भ्रमण गरे। होमस्टेमा स्थानीय बोटे समुदायले गरेको स्वागतपछि उनले यो समुदायले गरेको प्रगतिलाई प्रशंसा गर्दै भने, “तपाईंहरू जसले पहिले नदी किनारमा डुङ्गा चलाएर जीविकोपार्जन गर्नुहुन्थ्यो, अहिले होमस्टे सञ्चालन गरेर पर्यटकलाई आकर्षित गर्दै नयाँ आर्थिक गतिविधि सिर्जना गर्दै हुनुहुन्छ। यो तपाईँहरूको समुदायको लागि ठूलो प्रगति हो।”

समारोहमा सहभागी बोटे समुदायका अगुवाहरूले आफ्नो सांस्कृतिक पहिचानको संरक्षणका लागि सांस्कृतिक घर निर्माणको आवश्यकता औंल्याउँदै प्रचण्डलाई सहयोगका लागि अनुरोध गरे।

अध्यक्ष दाहालले बोटे समुदायको मागप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै राज्यले यस्तो समुदायको संरक्षण र विकासमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए। उनले भने, “यस समुदायको सांस्कृतिक, आर्थिक, र सामाजिक विकासको लागि राज्यले ठोस कदम चाल्न जरुरी छ।”

प्रचण्डले बोटे समुदायको पहिचान, इतिहास, र जीवनशैलीको संरक्षणले पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिन सक्ने भएकाले यसलाई राज्यले उपेक्षा गर्नु नहुने तर्क गरे। साथै, उनले सरकार र जनप्रतिनिधिहरूलाई यस्ता समुदायहरूको प्रगतिको लागि आवश्यक नीतिगत र आर्थिक सहयोग गर्न आग्रह पनि गरे।

समारोहले बोटे समुदायको प्रगति र भविष्यका लागि राज्यले खेल्नुपर्ने भूमिकाबारे गम्भीर बहसको शुरुवात गरेको प्रचण्डले उल्लेख गरे। उनले बोटे समुदायको विकासलाई देशको समग्र विकासको अभिन्न हिस्सा बनाउनुपर्ने कुरामा जोड दिए।

साताकाे चर्चित
सम्बन्धित