जुम्लामा पटक–पटक हिमपात, कृषकलाई पुगेन राहत
जुम्लामा पटक–पटक हिमपात, कृषकलाई पुगेन राहत
    • उमेश बुढा

    • ४ माघ २०८१, शुक्रबार

 

जुम्ला ।

कर्णाली प्रदेशका हिमाली जिल्लाहरूमा यस वर्ष पटक–पटक हिमपात भएको छ। यद्यपि, आवश्यक मात्रामा पानी नपुग्दा जुम्लाका किसानहरू असन्तुष्ट छन्।

कनकासुन्दरी ३ बुढुका किसान बाँचे बुढाका अनुसार यो वर्ष हिउँदे ऋतु सुरु भएदेखि हालसम्म ३–४ पटक हिमपात भइसकेको छ। तर, हल्का मात्रामा हुने हिमपातले बालीनालीलाई झन् क्षति पुर्याएको छ। “यस्तो हिमपातले धुलो मात्रै मार्छ, तर बालीनालीलाई आवश्यक पानी पुर्याउन सकेको छैन,” बुढाले भने। उनले यस वर्षको कृषि उत्पादनमा कमी आउने चिन्ता व्यक्त गरे।

पहिलेका वर्षहरूमा पुस र माघ महिनामा ३–४ पटकसम्म पर्ने घना हिमपातले बालीनालीका लागि उपयुक्त मानिन्थ्यो। तर, फागुन र चैतमा हुने हिमपातले भने बोटविरुवा र बालीनालीलाई त्यति राम्रो प्रभाव पार्दैन भन्ने कुरा पुराना किसानहरूले बताउँदै आएका छन्।

हिमा २ ओदीका किसान जय बहादुर रोकायाले भने, “थोरै मात्रामा पर्ने हिमपातले झन् बालीनालीलाई सुख्खा बनाउने, पोल्ने र उकास्ने गरेको छ। यस्ताे हिमपातले बालीनालीलाई सुधार्नुको साटो झन् बिगार्ने काम गरेको छ।”

जिल्ला कृषि विकास कार्यालय जुम्लाका निमित्त प्रमुख रामभक्त अधिकारीका अनुसार जलवायु परिवर्तनले बोटविरुवा र बालीनालीमा प्रतिकूल असर पार्दै आएको छ। “जतिखेर पानी आवश्यक हुन्छ, त्यतिखेर खडेरी पर्ने र अनावश्यक बेला धेरै वर्षा हुने क्रमले स्याउ, आरु, ओखर लगायतका बोटविरुवामा नकारात्मक प्रभाव परेको छ,” अधिकारीले भने।

“मंसिर र पुसमा पर्ने हिमपातले लामो समयसम्म पग्लेर बालीनाली र बोटविरुवालाई फाइदा पुर्याउँछ,” अधिकारीले थपे। तर, फागुन तिर हिमपात कम पर्ने भएकाले बोटविरुवाले पर्याप्त पानी पाउन सक्दैनन्, जसले गर्दा उत्पादनमा गिरावट आउने संभावना हुन्छ।

यस वर्ष पटक–पटक हिमपात भए पनि बालीनाली र बोटविरुवालाई पर्याप्त पानी नपुगेको र थोरै मात्रामा पर्ने हिमपातले दीर्घकालीन रूपमा प्रभाव पार्न नसकेकाले किसानहरू समस्यामा परेका छन्।

साताकाे चर्चित
सम्बन्धित