तनहुँ ।
तनहुँको देवघाट गाउँपालिकाका किसानलाई सुन्तला बिक्रीमा समस्या भइरहेको छ। पुलको अभावका कारण किसानहरू आफ्नो उत्पादन सजिलै बजारसम्म पुर्याउन असमर्थ भएका छन्। विशेष गरी देवघाट–३ मा वार्षिक लाखौं रुपैयाँको सुन्तला उत्पादन हुने भए पनि, बजारसम्म ढुवानी गर्न कठिनाइ उत्पन्न भएको छ।
लुङग्रिङ, बाटक, छिपछिपे, छापस्वाँरा, र दगरा गाउँका किसानहरूले त्रिशूली र सेती नदीमा पुलको अभावका कारण सुन्तला बजारसम्म लैजान कठिन भएको बताएका छन्। देवघाट–३ बाटकका हर्कबहादुर थापाका अनुसार, यस वर्ष मात्र वडा नं ३ मा तीन करोड रुपैयाँभन्दा बढीको सुन्तला उत्पादन भएको छ। स्थानीय भीमबहादुर रानाले लुङग्रिङका किसानहरूले एउटै परिवारले रु २० लाखभन्दा बढीको सुन्तला बिक्री गरेको जानकारी दिए।
लुङग्रिङ र छिपछिपेका किसानहरूले बुद्धसिंह मार्गको नाल्दीघाट र मुग्लिङ–नारायणगढ सडकको गाईघाटसम्म जीपमा सुन्तला ढुवानी गरी झोलुङ्गे पुल तारेर राजमार्गसम्म पुर्याउने गरेका छन्। त्यस्तै, छापस्वाँरा र दगराका किसानहरूले ग्राभिटी रोपवेमार्फत बुद्धसिंह मार्गमा झारेर त्यहाँबाट दमौली हुँदै काठमाडौँसम्म सुन्तला बिक्री गर्ने गरेका छन्।
स्थानीयहरूले नाल्दी र गाईघाटमा पुल भएमा किसानलाई ढुवानीमा सहज हुने बताएका छन्। पुलको अभावले ढुवानी खर्च महँगो भएको र उत्पादन बिचौलियामार्फत बिक्री गर्न बाध्य हुनुपरेको छ। दगराका किसान हरिकुमार श्रेष्ठले नदीमा पुल नभएका कारण यहाँका जनताको मुख्य ढुवानी साधन रोपवे बनेको बताएका छन्।
किसानहरूले सरकार र सम्बन्धित निकायलाई पुल निर्माणमा प्राथमिकता दिन आग्रह गरेका छन्। पुलको निर्माणले ढुवानी सजिलो हुनुका साथै उत्पादनको लागत घट्ने र किसानहरूको आम्दानी वृद्धि हुने आशा गरिएको छ।