कुश्माबजारमा दुई क्याम्पस गाभिएर कुश्मा बहुमुखी क्याम्पस स्थापना
कुश्माबजारमा दुई क्याम्पस गाभिएर कुश्मा बहुमुखी क्याम्पस स्थापना
    • बेल संचार

    • ६ माघ २०८१, आईतवार

पर्वत ।

सदरमुकाम कुश्माबजारमा सञ्चालित दुईवटा क्याम्पस, गुप्तेश्वर बहुमुखी क्याम्पस र शिवालय बहुमुखी क्याम्पस, एकआपसमा गाभिएर कुश्मा बहुमुखी क्याम्पस बनाइएको छ। आर्थिक मन्दी, सरकारको असहयोग, र विद्यार्थीको सङ्ख्या घट्दै गएपछि यी क्याम्पसहरूलाई गाभ्ने निर्णय गरिएको हो।

गुप्तेश्वर बहुमुखी क्याम्पस २०४८ सालदेखि र शिवालय बहुमुखी क्याम्पस २०६७ सालदेखि सञ्चालनमा थिए। क्याम्पस एकीकरणको प्रक्रिया शिवालय बहुमुखी क्याम्पसका पूर्व व्यवस्थापन समिति अध्यक्ष गोविन्द पहाडीको संयोजकत्वमा गठन गरिएको समितिले शनिबार टुङ्ग्याएको हो। त्रिभुवन विश्वविद्यालयले पनि नयाँ नामकरण भएको कुश्मा बहुमुखी क्याम्पसलाई अनुमति प्रदान गरेको छ।

यस एकीकरणको क्रममा क्याम्पस सञ्चालक समितिका पदाधिकारी, प्राध्यापक, र सञ्चालक सदस्यहरूको उपस्थितिमा आठवटा उपसमिति गठन गरिएको थियो। उपसमितिले कानुनी प्रावधानहरूको संशोधनदेखि आगामी क्याम्पस सञ्चालनको खाका तयार गरेको थियो।

हाल गुप्तेश्वर बहुमुखी क्याम्पसमा २६२ जना र शिवालय बहुमुखी क्याम्पसमा २६८ जना विद्यार्थी छन्। विद्यार्थी सङ्ख्या घट्दै जाँदा प्रशासनिक र सञ्चालन खर्च बढेकाले क्याम्पस एकीकरणको आवश्यकता परेको संयोजक पहाडीले बताए।

एकीकरण प्रक्रिया सफलतापूर्वक सम्पन्न भएसँगै चालु शैक्षिक सत्रदेखि नै दुवै क्याम्पसका कक्षाहरू एकीकृत रूपमा सञ्चालन गरिनेछ। गुप्तेश्वर क्याम्पस छमर्केमा र शिवालय क्याम्पस बजार क्षेत्रमा रहेकोले विद्यार्थी र प्राध्यापकहरूको सुविधालाई ध्यानमा राखी कक्षाहरू सञ्चालन गरिने भएको छ।

जिल्लामा १२ सामुदायिक क्याम्पस सञ्चालनमा भए पनि अधिकांश क्याम्पसमा विद्यार्थी सङ्ख्या कम छ। विद्यार्थी सङ्ख्या न्यून हुँदा कतिपय क्याम्पस बन्द हुने अवस्थामा पुगेका छन्।

क्याम्पस सञ्चालक समितिले एकीकरणले सवल, परिस्कृत, र आधुनिक क्याम्पस स्थापना गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ। यो एकीकृत क्याम्पसले शैक्षिक गुणस्तरमा सुधार ल्याउने र विद्यार्थीको आकर्षण बढाउने अपेक्षा गरिएको छ।

साताकाे चर्चित
सम्बन्धित