काठमाडौं ।
संघीय संसदको नियमित अधिवेशन माघ १८ गते बोलाउनेबारे छलफल थालिएको छ। सत्तारुढ दलका नेताहरूका अनुसार, यसअघि भएको मन्त्रिपरिषद् बैठकमा पनि अधिवेशन बोलाउने मितिबारे छलफल भएको थियो।
सत्तारुढ दलका एक नेताले भने, “अब बस्ने मन्त्रिपरिषद बैठकले अधिवेशन आह्वानको निर्णय गरेर राष्ट्रपति समक्ष सिफारिस गर्न सक्छ, वा यसअघिको मन्त्रिपरिषद् बैठकमा भएको छलफलका आधारमा पनि निर्णय भएर राष्ट्रपतिकहाँ सिफारिस जान सक्छ।”
संसदको वर्षे अधिवेशन गत भदौ ३१ गते समाप्त भएको थियो। पाँच महिना पुग्न लाग्दा पनि सरकारले हिउँदे अधिवेशन नबोलाएको भन्दै विपक्षी दलहरूले सरकारलाई खबरदारी गरिरहेका छन्।
संविधानअनुसार, एक अधिवेशन र अर्को अधिवेशनबीचको अवधि ६ महिनाभन्दा बढी हुन नहुने व्यवस्था रहेको छ। संसदको अधिवेशन अन्त्य र आह्वान सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ।