झापामा मकैखेतीमा नवीनतम् प्रविधिको प्रयोग, किसान उत्साहित
झापामा मकैखेतीमा नवीनतम् प्रविधिको प्रयोग, किसान उत्साहित
    • बेल संचार

    • ६ माघ २०८१, आईतवार

झापा ।

नवीनतम् प्रविधिबाट मकैखेती हुने भएपछि यहाँका किसान उत्साहित भएका छन्। खनजोत नगरी धान रोपेको खेतमा सोझै मकै बाली लगाउन सकिने प्रविधिको प्रयोगले किसानलाई नयाँ उत्साह दिएको हो।

बाह्रदशी गाउँपालिका–६ की किसान माता सोरेनले भने, “मकै रोप्ने बेलामा उम्रिन्छ जस्तो लाग्दैन थियो, अहिले उम्रिएको बिरुवा हेर्दा खेती राम्रै हुन्छ जस्तो छ।” उनले मकैखेतीका लागि एक बिघामा खनजोतमा रु १० हजारदेखि १२ हजार खर्च हुने जानकारी दिइन्।

“पहिलोपटक यसरी खेती गरिरहेको छु,” उनले थपे, “मकै उम्रिएपछि उत्साहित छु, उत्पादन राम्रो भयो भने अर्को वर्षदेखि यसरी नै खेती गर्छु।”

‘कृषकलाई यन्त्र उपकरणको प्रयोग प्रदर्शनी कार्यक्रम’अन्तर्गत शून्य खनजोत प्रविधिबाट जिल्लाका तीन स्थानमा मकैखेती गरिएको छ। कृषि ज्ञान केन्द्रले बिर्तामोड नगरपालिका–९, कचनकवल गाउँपालिका–१ र बाह्रदशी गाउँपालिका–६ मा १०–१० कट्ठा क्षेत्रफलमा शून्य खनजोत प्रविधिबाट प्रदर्शनी खेती गरिरहेको छ।

प्रदर्शनी खेती गरिएको ठाउँमा अनुगमन गरेर आवश्यक युरिया, पोटास, जिङ्कलगायत मलखाद उपलब्ध गराइएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख सागर विष्टले जानकारी दिए। “मकै उम्रिएर राम्रो बोट आएपछि किसान आकर्षित भएका छन्,” उनले भने, “मल र सिँचाइपछि अझै राम्रो उत्पादन हुने छ।”

कृषि अनुसन्धान निर्देशनालय तरहरा सुनसरीको प्राविधिक सहयोगमा कृषि ज्ञान केन्द्रले शून्य खनजोत प्रविधिबाट मकैखेतीको प्रदर्शनी खेती गरेको हो। यो प्रविधिको प्रयोगबाट किसानको उत्पादन लागत घट्नेछ र नयाँ प्रविधि विस्तार तथा माटोको गुस्तर सुधार हुनेछ। धान काटेको खेतमा खनजोत नगरी मेसिनको प्रयोगबाट एकैपटक मकैको बीउ र मल हालेर मकै रोपिने कृषि ज्ञान केन्द्रले जनाएको छ।

साताकाे चर्चित
सम्बन्धित