वर्षमान पुन अनन्त : समानुपातिक प्रणालीको दुरुपयोगको आलोचना
वर्षमान पुन अनन्त : समानुपातिक प्रणालीको दुरुपयोगको आलोचना
    • बेल संचार

    • ६ माघ २०८१, आईतवार

काठमाडौँ ।

नेकपा माओवादी केन्द्रका उपमहसचिव एवं पूर्वमन्त्री वर्षमान पुन अनन्तले निर्वाचनमा आफैँ प्रतिस्पर्धा गर्न सक्ने वर्गका मानिसहरू समानुपातिक प्रणालीबाट संसदमा आएको भन्दै यसको दुरुपयोगको आलोचना गरेका छन्।

पार्टी सम्बद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारीको चिकित्सा शास्त्र अध्ययन संस्थान, महाराजगन्ज चिकित्सा क्याम्पस (एमएमसी–आईओएम) इकाई सम्मेलनमा बोल्दै पुनले समावेशिता र समानुपातिक प्रतिनिधित्वको अवधारणा असल उद्देश्यका लागि अघि सारिएको भए पनि त्यसको दुरुपयोग हुँदै गएको बताए।

उनका अनुसार, समानुपातिक र समावेशिताको माध्यमबाट प्रतिस्पर्धा गर्न नसक्ने वर्गलाई संसदमा स्थान दिनुपर्ने हो, तर सक्षम वर्गले यसलाई अवसरका रूपमा प्रयोग गरेको छ। “जनतामा यसप्रति नकारात्मक धारणा विकास हुन थालेको छ,” पुनले भने।

पुनले आफूले उठाएको मुद्दालाई लोकतन्त्रको सर्भिसिङको रूपमा प्रस्तुत गर्दै थप भने, “समावेशिता चुनाव लड्न नसक्नेका लागि हो। प्रतिस्पर्धा गर्न योग्य बनाउन पछि परको समुदाय र वर्गका मान्छेलाई अवसर दिने हो।” उनले चेतावनी दिए कि यस अवस्थामा सुधार गर्नुपर्ने आवश्यकता छ, विशेष गरी जब ‘लुप होल’ बाट सक्षम व्यक्तिहरू प्रतिस्पर्धा गर्न नसक्ने वर्गका लागि छुट्याइएको कोटामा तीन पटकसम्म सांसद/मन्त्री बनेका छन्।

उनले सरकारी सेवामा विकट गाउँका गरिब बाहुन, मधेसी, जनजाति र कर्णालीजस्ता पिछडिएका क्षेत्रका लागि छुट्याइएको आरक्षणको दुरुपयोगको मुद्दा पनि उठाए। पुनका अनुसार, काठमाडौँसहित सहरका निजी स्कूल र क्याम्पसमा पढ्नेहरूले यी आरक्षणको फाइदा लिन नहुने कुरा महत्त्वपूर्ण छ। “अवसर पाउने र नपाउनेबीचको प्रतिस्पर्धा मात्र न्यायोचित हुने,” उनले भने।

पुनले चुनाव लडेर प्रतिस्पर्धामा आउन सक्ने महिला, जनजाति, दलित वा मधेसी नेताले समानुपातिक प्रणालीबाट संसदमा आउन नहुने बताएका छन्। यसका साथै, बंगलादेशमा समावेशीताकै नाराको गलत प्रयोगका कारण उत्पन्न असन्तुष्टि र परिणामस्वरूप शेख हसिनाको शासनको असफलताको उदाहरण पनि दिएका छन्।

“कांग्रेस र एमालेले दुई तिहाइको घमन्डमा सरकारमा बहेर अहिलेकै जस्तो मनपरी गर्न सक्छन्,” पुनले भने, “तर कार्यकर्ताबाहेकका जनताले अब भोट नदिने स्थिति आउन सक्छ।” उनले प्रचण्डको १८ महिने सरकारको नेतृत्व र भ्रष्टाचार नियन्त्रणको प्रयासलाई पनि उच्च मूल्यांकन गरे।

साताकाे चर्चित
सम्बन्धित