लमजुङका किसानले अलैँची बिक्रीबाट रु २२ करोड आम्दानी गरे
लमजुङका किसानले अलैँची बिक्रीबाट रु २२ करोड आम्दानी गरे
    • बेल संचार

    • ७ माघ २०८१, सोमबार

लमजुङ ।

लमजुङ । लमजुङका किसानहरूले चालु आर्थिक वर्षमा अलैँची बिक्रीबाट रु २२ करोड आम्दानी गरेका छन्। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ लमजुङका वरिष्ठ कृषि अधिकृत हरिबहादुर मिजारका अनुसार यस आर्थिक वर्षमा १५० मेट्रिक टन अलैँची बिक्री भएको छ। यस वर्ष अलैँचीको मूल्य प्रतिकिलो रु १,५०० देखि रु २,४०० सम्म रहेको थियो।

गत आर्थिक वर्ष २०८०/८१ मा २५१ मेट्रिक टन अलैँची बिक्री गरी किसानहरूले रु २४ करोड आम्दानी गरेका थिए। सो वर्ष प्रतिकिलो मूल्य रु १,२०० थियो। यस वर्ष उत्पादनमा कमी आएको छ।

आर्थिक वर्ष २०७९/८० मा ३८० मेट्रिक टन अलैँची बिक्रीबाट रु २० करोड आम्दानी भएको थियो, जसमा प्रतिकिलो मूल्य रु ५५० देखि रु ७०० सम्म थियो। त्यस्तै, आव २०७८/७९ मा ३३५ मेट्रिक टन अलैँची बिक्री गरी रु १५ करोड आम्दानी भएको थियो। आव २०७७/७८ मा ३,५०० क्विन्टल अलैँची बिक्री गरी रु १८ करोड २० लाख कमाइ भएको थियो।

आव २०७६/७७ मा २,००० क्विन्टल अलैँची बिक्रीबाट रु १२ करोड आम्दानी भएको थियो भने आव २०७५/७६ मा ७५० क्विन्टल अलैँची बिक्री गरी रु ५ करोड २५ लाख आम्दानी भएको थियो।

लमजुङमा सबैभन्दा बढी उत्पादन मर्स्याङ्दी गाउँपालिकामा हुने गर्छ। मर्स्याङ्दी गाउँपालिका-५ सन्जापुका किसानहरूले मात्र यो वर्ष ६,७०० केजी अलैँची बिक्री गरी रु १ करोड ५० लाख आम्दानी गरेको सन्जापु अलैँची कृषक समूहका अध्यक्ष कामकाशि गुरुङले जानकारी दिए। यो आम्दानी गाउँका करिब ६० घरधुरीको अलैँचीखेतीबाट भएको हो।

भारतको एकाधिकारका कारण किसानहरूले मागअनुसार मूल्य नपाएको गुनासो गर्दै आए पनि यस वर्ष केही राहत महसुस भएको किसानहरूको भनाइ छ।

जिल्लामा ७५० हेक्टर क्षेत्रफलमा अलैँचीखेती हुँदै आएको छ भने ३७५ हेक्टरमा उत्पादन हुँदै आएको छ। परियोजनाले मर्स्याङ्दी गाउँपालिका, बेँसीसहर नगरपालिका, क्व्होँलासोथर गाउँपालिका, दोर्दी गाउँपालिका र दूधपोखरी गाउँपालिकालाई अलैँची जोन पकेट क्षेत्र घोषणा गरेको छ।

जिल्लामा ७०० मिटरदेखि २,२०० मिटर उचाइसम्म विभिन्न जातका अलैँची बिरुवा लगाइएको छ। विसं २०४१ बाट यहाँ अलैँचीखेती विस्तार हुँदै आएको हो।

साताकाे चर्चित
सम्बन्धित