बैंक कर्जा लगानी नबढ्नु चिन्ताको विषय : अर्थमन्त्री पौडेल
बैंक कर्जा लगानी नबढ्नु चिन्ताको विषय : अर्थमन्त्री पौडेल
    • बेल संचार

    • ७ माघ २०८१, सोमबार

काठमाडौं ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंकहरूले अपेक्षित रूपमा कर्जा लगानी गर्न नसक्नु चिन्ताको विषय भएको बताएका छन्।

काठमाडौंमा सोमबार आयोजित कृषि विकास बैंक लिमिटेडको ५८औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले बैंकहरूमा निक्षेप संकलन राम्रो भए पनि कर्जा प्रवाहमा कमी भएकोमा गम्भीर चिन्ता व्यक्त गरे।

उनले भने, “पछिल्लो समय बैंकहरूको बचत बढेको छ तर कर्जा अपेक्षित रूपमा वृद्धि भएको छैन। यो गम्भीर विषय हो। बैंकहरूले उत्पादन वृद्धि, रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी विस्तार गर्नुपर्छ।”

अर्थमन्त्री पौडेलले कृषि विकास बैंकलाई अझै व्यावसायिक र प्रतिस्पर्धी बनाउनुपर्नेमा जोड दिँदै भने, “बैंकको सञ्चालक समिति, व्यवस्थापन र कर्मचारीको सामूहिक प्रयासबाट बैंक प्रतिस्पर्धी बन्दै गएको छ। तर, यसैमा रमाएर बस्न हुँदैन। अझै अब्बल र प्रतिस्पर्धी बैंकका रूपमा अगाडि बढ्नुपर्छ।”

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको आर्थिक र वित्तीय सूचकहरू सुधारोन्मुख रहेको बताए। उनले भने, “अर्थतन्त्र लयमा फर्किन थालेको छ। बाह्य क्षेत्रमा सन्तुलन छ। तर, बैंकहरूले कर्जा असुलीमा केही समस्या भोगिरहेका छन्।”

गभर्नर अधिकारीका अनुसार, तरलता पर्याप्त छ, ब्याजदर घटेको छ, र सरकारी राजस्व वृद्धि भएको छ। उनले कृषि क्षेत्रमा बैंकको लगानीको मुख्य योगदान कृषि विकास बैंकले गरिरहेको बताए।

कृषि विकास बैंकको सञ्चालक समिति अध्यक्ष रामशरण पुडासैनीले दिगो बैंकिङ र वित्तीय स्थायित्वका लागि जोखिम व्यवस्थापन, आन्तरिक नियन्त्रण प्रणालीको प्रभावकारीता, र कर्जाको गुणस्तरमा विशेष ध्यान दिइएको बताए।

कृषि विकास बैंकको स्थापना २०२४ माघ ७ गते पाँच करोड अधिकृत पूँजीसहित भएको थियो। बैंकले कृषि तथा कृषि आधारित उद्योग व्यवसायको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। हाल बैंकको ५१ प्रतिशत स्वामित्व सरकारको र ४९ प्रतिशत सर्वसाधारणको छ।

हाल बैंकको अधिकृत पूँजी २५ अर्ब, जारी पूँजी १९ अर्ब २८ करोड छ। बैंकले हालसम्म एक लाख ५१ हजार कर्जा ग्राहक र २० लाख ३४ हजार निक्षेपकर्ताको व्यवस्थापन गरिरहेको छ। बैंकको पूँजी कोष अनुपात गत मंसिरसम्म १३.१४ प्रतिशत रहेको छ।

बैंकले आगामी दिनमा कोषको लागत घटाउने, न्यूनतम सञ्चालन खर्च कायम गर्ने, निष्क्रिय कर्जा घटाउने, र योग्य जनशक्ति भित्र्याउने योजना बनाएको छ। बैंकका प्रवक्ता हिमलाल पौडेलले यी योजनाहरूले बैंकको कार्यक्षमता र प्रतिस्पर्धात्मकता बढ्ने विश्वास व्यक्त गरे।

साताकाे चर्चित
सम्बन्धित