रूकुम पश्चिम ।
त्रिवेणी गाउँपालिकामा यस वर्ष अदुवा उत्पादन बढेसँगै मूल्य पनि बढेको छ । अदुवा खेती गर्ने किसानको सङ्ख्या घटे पनि उत्पादनमा भने वृद्धि भएको छ ।
त्रिवेणी गाउँपालिकाका कृषि शाखा प्रमुख रमेश पुनका अनुसार यस वर्ष करिब ६ करोड रुपैयाँको अदुवा बिक्री भएको छ । अदुवा बिक्रीबाट किसानले जम्मा ५ करोड ९२ लाख रुपैयाँ आम्दानी गरेका छन् । दस वटा वडा रहेको त्रिवेणीमा १,९५० परिवारले अदुवा खेती गर्दै आएका छन् ।
प्रत्येक किसानले दुई रोपनीभन्दा बढी जग्गामा अदुवा खेती गर्ने गरेको पुनले जानकारी दिए । हाल पालिकाभर १९५ हेक्टर जग्गामा अदुवा खेती भइरहेको छ । उनका अनुसार एक रोपनी जमिनमा चार क्विन्टलभन्दा बढी अदुवा उत्पादन हुने गरेको छ । यस वर्ष पालिकाभर १५,६०० क्विन्टल (१५.६ मेट्रिक टन) अदुवा उत्पादन भएको छ । किसानहरूले प्रतिक्विन्टल ३,८०० रुपैयाँभन्दा बढीमा अदुवा बिक्री गरेका छन् ।
गत आर्थिक वर्षमा २,६०० परिवारले अदुवा खेती गरे पनि यस वर्ष उक्त सङ्ख्या ६५० ले घटेको पुनले बताए । तर, व्यापारीहरूले गाउँमै आएर अदुवा खरिद गर्ने भएकाले बजारको समस्या नरहेको जनाइएको छ ।
त्रिवेणी–४ खुम्चेरीका व्यवसायिक अदुवा किसान नरबहादुर खड्काले यस वर्ष अदुवा बिक्रीबाट एक लाख रुपैयाँ आम्दानी गरेको बताए । उनले २० वर्षदेखि अदुवा खेती गर्दै आएको र राम्रो मौसममा दुई लाख रुपैयाँसम्म आम्दानी हुने जानकारी दिए ।
त्यस्तै, त्रिवेणी–६ बाँठाकोटका कमलप्रसाद घर्तीले पनि यस वर्ष अदुवा उत्पादन र मूल्य दुवै राम्रो भएको बताए । गाउँबाटै प्रतिक्विन्टल ५,००० रुपैयाँ र बीउका लागि प्रतिक्विन्टल १२,००० रुपैयाँसम्म अदुवा बिक्री हुने गरेको उनले जनाए ।
“पहिले एक क्विन्टल अदुवाबाट पाँच क्विन्टलसम्म उत्पादन हुन्थ्यो, अहिले घटेर तीन क्विन्टलसम्म मात्र हुन्छ । मौसममा आएको परिवर्तन र मल अभाव जस्ता कारणले उत्पादन घटेको हुनसक्छ,” उनले भने । घर्तीले अदुवासँगै सुन्तला र किवीको पनि खेती गर्दै आएका छन् ।