झापा ।
शिवसताक्षी नगरपालिकाले फर्मालिन प्रयोग गरिएको माछा बिक्रीमा प्रतिबन्ध लगाएको छ। मानव स्वास्थ्यका लागि हानिकारक मानिएको फर्मालिन रसायन प्रयोग गरेर माछालाई ताजा देखाउन खोजिएको जनगुनासो बढेपछि यस्तो निर्णय गरिएको हो। नगरपालिकाका उपप्रमुख एवं अनुगमन समितिकी संयोजक नरमाया कार्कीका अनुसार, फर्मालिन प्रयोगले क्यान्सरजस्ता गम्भीर रोग निम्त्याउने सम्भावना रहेकाले यो कदम उठाइएको हो।
कार्कीले माछामा फर्मालिन प्रयोग नगर्नु र मरेका माछा बिक्री वितरण नगर्नु भन्ने सूचना व्यापारीलाई गराइसकेको जानकारी दिइन्। नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्वाहाम्फेले स्थानीय बजार व्यवस्थापन समिति र प्रहरीको सहयोगमा नियमित बजार अनुगमन भइरहेको बताइन्।
भारतबाट आयातित माछालाई सड्न नदिन फर्मालिनको प्रयोग गरिएको गुनासो आएपछि नगरपालिकाले कडाइका साथ अनुगमन थालेको छ। यसबारे थाहा पाएमा तत्काल खबर गर्न नगरपालिकाले सार्वजनिक सूचना जारी गरेको छ।
यसअघि, पाँच वर्षअघि झापाको बिर्तामोड नगरपालिकाले पनि फर्मालिन प्रयोग भएका माछाको बिक्री वितरणमा प्रतिबन्ध लगाइसकेको थियो। झापामा स्थानीय उत्पादनले खपत धान्ने अवस्था भएकाले भारतबाट आयातित मरेका माछाको बिक्री रोक्न उपभोक्ताहरूले माग गरेका छन्। उपभोक्ता जागरण अभियान झापाका अध्यक्ष शालिकराम भट्टराईले फर्मालिन रसायनको प्रयोग स्वास्थ्यका दृष्टिले घातक भएकाले यसलाई कुनै पनि खाद्यपदार्थमा प्रयोग नगर्न प्रोत्साहित गर्नुपर्ने बताए।
भट्टराईले शिवसताक्षी र बिर्तामोड नगरपालिकाको निर्णयलाई स्वागत गर्दै यसलाई पूर्ण कार्यान्वयन गर्न उपभोक्ता संस्थाका प्रतिनिधि र विज्ञको सहयोगमा नियमित अनुगमन आवश्यक रहेको धारणा राखे।