बाँके ।
चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो छ महिनामा बाँकेको घरेलु तथा साना उद्योग कार्यालयमा ३४६ उद्योग तथा फर्म खारेज भएका छन्।
घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख उद्योग अधिकृत रमेशबहादुर बुढाथोकीका अनुसार खारेजी हुनेमध्ये १०८ उत्पादनमूलक, कृषि तथा वन्यजन्तु, पर्यटनमूलक र सेवामूलक उद्योग छन् भने २३८ वाणिज्यतर्फका निजी र साझेदारी फर्महरू रहेका छन्।
उनले भने, “पछिल्ला केही वर्षदेखि खारेजी गर्नेको संख्या लगातार बढिरहेको छ। आर्थिक मन्दी, बैंकको उच्च ब्याजदर, खुला सीमा र भारतीय बजारसँगको प्रतिस्पर्धाका कारण उद्योगहरू टिकाउन समस्या भएको छ। धेरै उद्योगी व्यापारीले यी समस्याका कारण उद्योग बन्द गर्नु परेको गुनासो गरेका छन्।”
युवाहरूले ऋण लिएर उद्योग स्थापना गरे पनि उद्योग टिकाउन नसक्दा खारेज गरी वैदेशिक रोजगारीमा जाने प्रवृत्ति बढिरहेको बुढाथोकीले बताए।
यद्यपि, खारेजीसँगै नयाँ उद्योग दर्ता पनि भइरहेको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्म ६ महिनामा ३६८ नयाँ उद्योग र ४१० नयाँ वाणिज्य फर्म दर्ता भएका छन्।
कार्यालयका तथ्यांकअनुसार, सोही अवधिमा उद्योगतर्फ ६२७ र वाणिज्यतर्फ १,२५६ फर्म नवीकरण भएका छन्। साथै, ३४० उद्योग र ४७७ वाणिज्य फर्ममा पुँजी वृद्धि, ठाउँसारी, नाम परिवर्तनलगायतका संशोधन भएका छन्।
प्रशासन अधिकृत सुशील ढकालका अनुसार, पछिल्ला वर्षहरूमा वाणिज्य फर्महरू खारेज हुने दर नयाँ दर्ताको तुलनामा तीव्र रूपमा बढ्दै गएको छ।