बाँकेमा जलचर चराको सर्वेक्षण : २७६ चरा र २० प्रजाति पहिचान
बाँकेमा जलचर चराको सर्वेक्षण : २७६ चरा र २० प्रजाति पहिचान
    • बेल संचार

    • १० माघ २०८१, बिहीबार

नेपालगञ्ज ।

केही दिनअघि बाँके जिल्लामा भएको जलचर चराको गणना तथा सर्वेक्षणमा २० प्रजातिका चरा भेटिएका छन्। राप्ती नदीको कुसुमदेखि सिक्टा क्षेत्रका साथै विभिन्न ताल, तलैया, र नदी क्षेत्रमा यी प्रजातिका चरा पाइएका हुन्।

चराविज्ञ राम शाहीका अनुसार चखेवाललगायत साइबेरियन र रसियाबाट आएका चराहरू पनि यहाँ फेला परेका छन्। उनले भने, “तालतलैयामा भएको फोहोर र वनभोजस्थलका कारण ध्वनि प्रदूषणले चराको बासस्थान सङ्कटमा परेको छ। यसले चराको प्राकृतिक वासस्थानलाई साँघुरो बनाएको छ।” सर्वेक्षणका क्रममा खडखडे, सिलसिले हाँसलगायतका जलचर चरा पनि फेला परेका छन्।

बाँके राष्ट्रिय निकुञ्ज र यसको मध्यवर्ती क्षेत्रका समुदायले गरेको दुई दिनको सर्वेक्षणमा कुल २७६ चरा पहिचान भएका छन्। निकुञ्जका सूचना अधिकारी मन्दीप पँगेनीका अनुसार, चराविज्ञ जोशीसहितको टोलीले राप्ती नदी आसपास, स्थानीय वन, कान्ति ताल, र सुतैया ताल क्षेत्रमा चराको गणना गरेको थियो।

पँगेनीले भने, “सर्वेक्षणका क्रममा विभिन्न प्रजातिका चरा र उनीहरूको बासस्थान सुरक्षित रहेको देखिएको छ। हरेक वर्ष हुने यो गणनाले चराको बासस्थान व्यवस्थापनमा महत्त्वपूर्ण सहयोग पुर्‍याउने विश्वास लिएका छौँ।”

यस्तै, बर्दियामा पनि जलचर चराको सर्वेक्षण तथा गणना सम्पन्न भएको जानकारी प्राप्त भएको छ।

साताकाे चर्चित
सम्बन्धित