काठमाडाैं ।
सिंहदरबारस्थित गृह मन्त्रालयमा नेपालका लागि एडीबीका प्रतिनिधि निर्देशक आर्नो कोस्वाले गृहमन्त्री रमेश लेखकसँग महत्वपूर्ण भेटवार्ता गरेका छन्। यस भेटमा गृहमन्त्री लेखकले भौतिक पूर्वाधार निर्माणमा एडीबीको योगदानको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरेका थिए।
मन्त्री लेखकले एडीबीसँग सहयोगको अपेक्षा गर्दै पूर्व–पश्चिम राजमार्गको गड्डाचौकी–कोहलपुर खण्डको स्तरोन्नति र सुदूरपश्चिमको महाकाली कोरिडोरको सडक निर्माणमा सहकार्य गर्न आग्रह गरेका थिए। यस अतिरिक्त, उनले कैलालीको गोदावरीदेखि डडेल्धुरासम्मको सडकको स्तरोन्नति, भारतीय सहयोगमा निर्माण भइरहेको दोधारा चादँनी सुख्खा बन्दरगाहका वरपर भौतिक संरचनाहरू निर्माण गरेर नमूना सुख्खा बन्दरगाहको निर्माणमा पनि एडीबीको सहयोगका लागि अनुरोध गरेका थिए।
मन्त्री लेखक र एडीबी निर्देशक कोस्वाबीच सुदूरपश्चिमका चार पालिकामा एडीबीको सहयोगमा बनाइँदै गरेको आधुनिक शहर निर्माण र सुदूरपश्चिमको धार्मिक पर्यटकीय क्षेत्रको पूर्वाधार विकासमा थप सहयोगका बारेमा पनि छलफल भएको थियो।
यस भेटमा, गृहमन्त्री लेखकले एडीबीद्वारा सुदूरपश्चिमको पर्यटकीय विकासका लागि गरिएको सर्वेक्षण रिपोर्टको कार्यान्वयनमा जोड दिएका थिए। एडीबीका निर्देशक आर्नो कोस्वाले उक्त रिपोर्टका विषयमा उच्च तहसँग छलफल गरी जवाफ दिने आश्वासन दिएका छन्।
यो भेटवार्ता नेपालको भौतिक पूर्वाधार र क्षेत्रीय विकासका लागि नयाँ अवसर र सहयोगका ढोका खोल्ने कदमको रूपमा हेरिन सक्छ।