आईसीसी यू-१९ महिला टी-२० विश्‍वकपमा नेपालको सान्त्वना जित
आईसीसी यू-१९ महिला टी-२० विश्‍वकपमा नेपालको सान्त्वना जित
    • बेल संचार

    • ११ माघ २०८१, शुक्रबार

काठमाडौँ ।

नेपालले आईसीसी यू-१९ महिला टी-२० विश्‍वकपमा प्लेअफ खेलमा मलेसियालाई ७ विकेटले हराउँदै सान्त्वना जित हासिल गरेको छ।

मलेसियाले दिएको ४६ रनको लक्ष्य नेपालले ११ ओभरमा ३ विकेटको क्षतिमा सहजै पूरा गर्‍यो। नेपालको जितमा कप्तान पूजा महतोले उत्कृष्ट प्रदर्शन गर्दै अविजित २३ रनको योगदान दिइन्। सिमाना केसी ४ रनमा नटआउट रहिन्। मलेसियाकी मार्सियाले बलिङमा प्रभाव देखाउँदै ३ विकेट हात पारिन्।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले १६.५ ओभरमा सबै विकेट गुमाउँदै जम्मा ४५ रन बनायो। मलेसियाका लागि नुरिमानले सर्वाधिक १५ रनको योगदान दिइन्। नेपालका लागि कप्तान पूजा महतोले बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै ३.५ ओभरमा मात्र ९ रन खर्चेर ४ विकेट लिइन्। यस्तै, रचना चौधरीले ३ विकेट हात पारिन् भने सिमाना केसी र रिया शर्माले १-१ विकेट लिए।

कप्तान पूजा महतोले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै ४ खेलमा ९ विकेट लिँदै सर्वाधिक विकेट लिने बलरको रूपमा आफूलाई स्थापित गरेकी छिन्। समूह चरण र प्लेअफ खेलहरूमा उनको प्रदर्शनले टोलीलाई मनोबल प्रदान गरेको छ।

नेपालले समूह चरणमा बंगलादेश, स्कटल्याण्ड, र अस्ट्रेलियासँग पराजित भए पनि यो सान्त्वना जितले टोलीलाई आत्मविश्वास बढाउने विश्वास गरिएको छ।

सुपर सिक्सदेखि सेमिफाइनलसम्मका खेलहरू बाँकी रहेकोले अन्य खेलाडीहरूको प्रदर्शनले प्रतियोगितामा थप रोचकता ल्याउने अपेक्षा गरिएको छ।

साताकाे चर्चित
सम्बन्धित