सिँजामा एच.पि.भी. खोप सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
सिँजामा एच.पि.भी. खोप सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
    • उमेश बुढा

    • १५ माघ २०८१, मंगलवार

जुम्ला ।

जुम्लामा जनप्रतिनिधि, पत्रकार, शिक्षक, सुरक्षा कर्मी र स्वास्थ्यकर्मीलाई लक्षित गरी पाठेघरको मुखको क्यान्सर (एच.पि.भी.) खोप सम्बन्धी १ दिने अभिमुखिकरण कार्यक्रम मंगलबार सम्पन्न भएको छ। सिँजा गाउँपालिकाको नराकोट बजारस्थित होटल हिमा कर्णालीमा आयोजित उक्त कार्यक्रम स्वास्थ्य शाखाको आयोजनामा भएको हो।

कार्यक्रमका क्रममा सिँजा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ललित रोकायाले १० देखि १४ वर्ष उमेर समूहका छात्रालाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप प्रदान गरिने जानकारी दिनुभयो। नेपाल सरकारको राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत उक्त खोप विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) बाट प्रमाणित रहेको र यसले किशोरीहरुलाई एचपीभी भाइरसको संक्रमणबाट बचाउने उहाँले बताउनुभयो।

कार्यक्रम अनुसार, जुम्लाका आठवटै स्थानीय तहमा ८,८२९ छात्रालाई एचपीभी खोप दिइनेछ। सिँजा गाउँपालिकामा मात्रै ६५४ छात्रालाई खोप लगाइने योजना रहेको छ। सामुदायिक र निजी विद्यालयका कक्षा ६ देखि १० मा अध्ययनरत छात्रालाई खोप प्रदान गरिनेछ। विद्यालयबाहिर रहेका किशोरीलाई जन्मदर्ताको आधारमा उमेर हेरी खोप लगाइने व्यवस्था गरिएको छ।

सिँजा गाउँपालिकामा फागुन १ गतेदेखि ४ गतेसम्म खोप कार्यक्रम सञ्चालन हुनेछ। फागुन १ देखि ३ सम्म विद्यालयहरुमा खोप दिइनेछ भने छुटेकाहरुलाई फागुन ४ मा नराकोट स्वास्थ्य चौकीमा खोप लगाइनेछ।

सिँजा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शंकर धितालले खोप कार्यक्रमका लागि गाउँपालिकाले आवश्यक भौतिक सहयोग र सहकार्य गर्ने बताउनुभयो। प्रशिक्षक लंकराज भितालले एचपीभी खोप एक पटक लगाउनु जीवनभरका लागि पर्याप्त हुने र आगामी वर्षहरुमा पनि यो अभियान निरन्तर सञ्चालन गरिने जानकारी दिनुभयो।

कार्यक्रमका वक्ताहरुले यो खोपले पाठेघरको मुखको क्यान्सरका कारण दैनिक नेपालमा ज्यान गुमाइरहेका महिलाहरुको संख्या घटाउन मद्दत गर्ने बताए। कार्यक्रममा सहभागी सबै जनप्रतिनिधि, पत्रकार, शिक्षक र स्वास्थ्यकर्मीहरुले खोप सफलतापूर्वक सम्पन्न गर्न सहकार्य गर्नुपर्नेमा जोड दिए।

यस प्रकार, जुम्लामा एचपीभी खोप कार्यक्रम सफल बनाउन अभिमुखिकरण कार्यक्रमले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ।

साताकाे चर्चित
सम्बन्धित