बलिराम पण्डितद्वारा ऐतिहासिक मूर्तिनिर्माण कार्य
बलिराम पण्डितद्वारा ऐतिहासिक मूर्तिनिर्माण कार्य
    • बेल संचार

    • १६ माघ २०८१, बुधबार

वीरगञ्ज ।

उमेरले ५५ वर्ष पार गरिसके पनि मूर्तिकार बलिराम पण्डितको जोशजाँगर कुनै तन्नेरीभन्दा कम छैन। विगत ३० वर्षदेखि देवदेवताका मूर्तिहरू बनाउँदै आएका पण्डितले आफ्नो जीवनकै सबैभन्दा ठूलो मूर्ति निर्माण परियोजनामा काम गरिरहेका छन्।

वीरगञ्ज महानगरपालिका-१६ बसपार्कभन्दा झन्डै दुई किलोमिटर दूरीमा रहेको विश्रामपुर गाउँपालिका-५ मा आयोजना हुन लागेको  श्री १००८ महाशिवरात्रि महामहोत्सव महायज्ञ २०८१ का लागि उनले एक हजार ११ वटा देवदेवताका मूर्तिहरू बनाउन लागेका छन्। यस ऐतिहासिक कार्यका लागि उनी नेतृत्वको टोली १८ जना दक्ष कालिगडको सहयोगमा डेढ महिनादेखि जुटेको छ।

मूर्तिकार पण्डितका अनुसार निर्माण गरिने मूर्तिहरू विभिन्न पौराणिक घटनाहरू समेट्ने छन्। रामलिला, कृष्णलिला, शिवलिला, ५२ अवतार, सूर्यलिला, कुरुक्षेत्र, हनुमानका लिला, भिष्मपीता, लङ्कालगायतका दृश्यहरू मूर्तिहरूमा प्रतिबिम्बित गरिनेछ।

उनका अनुसार साना मूर्तिहरूको मूल्य रु १,५०० देखि रु ५,000 सम्म पर्नेछ भने समग्र मूर्तिनिर्माण कार्यका लागि करिब रु २५ लाख खर्च हुने अनुमान गरिएको छ। मूर्तिहरू निर्माण कार्य अन्तिम चरणमा पुगेको मूल व्यवस्थापन समितिले जनाएको छ।

पण्डितले मूर्तिनिर्माणकै आम्दानीबाट तीन छोरी र दुई छोरालाई उच्च शिक्षा प्रदान गर्दै आएका छन्। “माटोलाई कुदेर भगवानको आकृति बनाउँदा छुट्टै आत्मसन्तुष्टि मिल्छ,” उनले भने, “हाम्रो पुस्तौंदेखि यही काम गर्दै आइरहेका छौँ, जसले परिवारलाई पनि सहज रूपमा चल्न मद्दत गरेको छ।”

महामहोत्सव महायज्ञ माघ २४ देखि फागुन १५ गतेसम्म सञ्चालन हुनेछ। आयोजकहरूका अनुसार महायज्ञ धार्मिक पर्यटन प्रवर्द्धनसँगै सामाजिक कार्यमा योगदान दिने उद्देश्यले आयोजना गरिएको हो। तयारी अन्तिम चरणमा पुगेको र मूर्तिहरूको निर्माण पनि निर्धारित समयमै पूरा हुने आयोजक समितिले जानकारी दिएको छ।

साताकाे चर्चित
सम्बन्धित