तामाङ समुदायद्वारा सोनाम ल्होछार हर्षोल्लासका साथ मनाइँदै
तामाङ समुदायद्वारा सोनाम ल्होछार हर्षोल्लासका साथ मनाइँदै
    • बेल संचार

    • १७ माघ २०८१, बिहीबार

काठमाडौं ।

आज माघ शुक्ल प्रतिपदा, तामाङ समुदायले विविध कार्यक्रम गरी नयाँ वर्षका रूपमा सोनाम ल्होछार उल्लासपूर्वक मनाउँदै छन्। यस वर्ष खरायो वर्ग समाप्त भई गरुडा वर्गमा प्रवेश भएको छ। प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विशेष कार्यक्रम गरी यो पर्व मनाइन्छ।

सोनाम ल्होछार १२ वर्षे चक्रमा आधारित पर्व हो, जसमा मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा विभाजन गरिएको छ। हरेक वर्ष पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्षलाई स्वागत गर्न धार्मिक तथा सांस्कृतिक विधिअनुसार यो पर्व मनाउने परम्परा रहँदै आएको छ।

सोनाम ल्होछारका अवसरमा भूमिपूजा, कूलपूजा, दानदक्षिणा, ढोगभेट, नाचगान, विशेष परिकार तयार गर्ने, तथा शुभकामना आदानप्रदान गर्ने चलन छ। यो पर्व तामाङ समुदायका लागि मात्रै नभई अन्य हिमाली समुदायहरूका लागि पनि महत्वपूर्ण मानिन्छ। तामाङसँगै ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा लगायतका समुदायहरूले आ–आफ्ना परम्पराअनुसार यो पर्व मनाउने गर्दछन्।

तामाङ समुदायको ठूलो उपस्थिति रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा सोनाम ल्होछार भव्य रूपमा मनाइँदै छ। राजधानी काठमाडौंका टुँडिखेल, बौद्ध, स्वयम्भू लगायतका स्थानहरूमा विशेष कार्यक्रमहरू आयोजना गरिएको छ।

देशभरका विभिन्न स्थानमा बसोबास गर्ने तामाङ तथा अन्य हिमाली समुदायहरूले सोनाम ल्होछारलाई आ–आफ्नै शैली र परम्परा अनुसार मनाउने परम्परा रहेको छ। विविधता र समावेशिताको पहिचान बोकेको यो पर्वले नेपाली समाजमा आपसी भाइचारा र सद्भावलाई थप मजबुत बनाउने विश्वास गरिन्छ।

साताकाे चर्चित
सम्बन्धित