म्याग्दी ।
गण्डकी प्रदेश सरकारले मुस्ताङको दामोदरकुण्ड र याकखर्क जोड्ने सडक स्तरोन्नतिका लागि रु. १० करोड बजेट सुनिश्चित गरेको छ।
आर्थिक मामिला मन्त्रालयले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय अन्तर्गत चालु आर्थिक वर्ष २०८१/८२ मा ठेक्का प्रक्रिया अघि बढाउने गरी मुस्ताङका दुई सडकलाई रु. पाँच/पाँच करोड बजेट सुनिश्चित गरेको हो।
घरपझोङ गाउँपालिका–२ मार्फादेखि धमाङ– आलुबारी– याकखर्क तथा लोघेकर–दामोदरकुण्ड गाउँपालिकाको केन्द्र चराङदेखि सुरखाङ–यारा–घारा हुँदै घुयुमा ठाटीसम्मको सडक स्तरोन्नति योजना छनोट गरिएको प्रदेश सभा सदस्य विकल शेरचनले जानकारी दिए।
उनका अनुसार भौतिक मन्त्रालयले छनोट गरेपछि र अर्थ मन्त्रालयले स्रोत सहमति दिएपछि पूर्वाधार विकास कार्यालय मुस्ताङलाई ठेक्का प्रक्रिया अघि बढाउन बाटो खुलेको छ। यी सडकहरू पर्यटन, पशुपालन र कृषिको हिसाबले महत्वपूर्ण रहेको उनले बताए।
मार्फादेखि याकखर्कसम्मको करिब १३ किलोमिटर दूरीको सडकमा पर्ने धमाङ क्षेत्र स्याउ बगैँचाका लागि प्रख्यात छ। आलुबारी क्षेत्रमा परापूर्वकालदेखि आलु खेती हुँदै आएको छ भने यो क्षेत्र जडिबुटी खेती र दृश्य अवलोकनका हिसाबले पनि महत्वपूर्ण मानिन्छ।
याकखर्क धौलागिरि चक्रीय पदमार्ग हुँदै म्याग्दी जाने प्रमुख मार्ग हो। यस सडक स्तरोन्नतिले धौलागिरि हिमाल आरोहण तथा पदयात्रा गर्ने पर्यटकहरूलाई सहज हुनेछ।
दामोदरकुण्ड जाने चराङदेखि सुरखाङ–यारा–घारा हुँदै घुयुमा ठाटी सडक स्तरोन्नतिले स्थानीय बासिन्दासँगै हिन्दु तथा बौद्ध धर्मावलम्बी तीर्थयात्रीहरूलाई आवागमनमा सहज बनाउने प्रदेश सभा सदस्य नम्दु गुरुङले बताए। धार्मिक, पर्यटन र पशुपालनको हिसाबले यो सडकको महत्त्व रहेको उनले बताए।
यसअघि वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको १, २, र ३ नम्बर वडा जोड्ने रानीपौवा–झोङ–तेताङ सडक तथा लोमान्थाङ क्षेत्रको सडक स्तरोन्नतिका लागि रु. १०÷१० करोड बजेट छुट्याइएको थियो।
रानीपौवा–झोङ–तेताङ सडक कालीगण्डकी कोरिडोरको जोमसोम–कोरला सडकको छुसाङ–कागबेनी खण्डको विकल्पका रूपमा प्रयोग गर्न सकिने भएकाले कागबेनी–मुक्तिनाथ–उपल्लो मुस्ताङ आवतजावत गर्न सहज हुनेछ।
यसैबीच, झोङ–छेङ्गुर सडकखण्डमा पर्ने खोलामा मोटरेबल पुल निर्माणका लागि रु. ९ करोड १२ लाख बजेटको स्रोत सुनिश्चित गर्ने प्रक्रिया अन्तिम चरणमा रहेको प्रदेश सभा सदस्य शेरचनले जानकारी दिए।