धनगढी ।
कैलाली जिल्लाका फरक स्थानमा दुई जना मृत फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार, जानकी गाउँपालिका–५ नवलपुर र घोडाघोडी नगरपालिका–१ लक्ष्मीपुरमा सोमबार दुई जनाको शव फेला परेको हो।
प्रहरी नायब उपरीक्षक (डीएसपी) कवीन्द्र बोहराका अनुसार, घोडाघोडी नगरपालिका–१ लक्ष्मीपुरस्थित बागेश्वरी सामुदायिक वनमा डडेलधुराको परशुराम नगरपालिका–९ का १८ वर्षीय करन कामी मृत अवस्थामा फेला परेका थिए। कामीको शव दिउँसो ४ बजे भेटिएको थियो। घटनाबारे जानकारी पाएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। आवश्यक प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याइएको छ।
यस्तै, जानकी गाउँपालिका–५ नवलपुरमा ३० वर्षीय रामबहादुर कठरीया आफ्नै घरमा खटियामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। उनको शव दिउँसो ३ बजे फेला परेको थियो। कठरीयाको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ।
प्रहरीले दुवै घटनाको सम्बन्धमा अनुसन्धान जारी रहेको जनाएको छ।