जीर्ण भवनमा प्रहरीको बसोबास, सेवा दिन जोखिम मोलेर बसेका सुरक्षाकर्मी
जीर्ण भवनमा प्रहरीको बसोबास, सेवा दिन जोखिम मोलेर बसेका सुरक्षाकर्मी
    • उमेश बुढा

    • १२ फाल्गुन २०८१, सोमबार

 जुम्ला

हिमा गाउँपालिका–४ मा अवस्थित बुअ प्रहरी चौकी जीर्ण भवनमा सञ्चालन भइरहेको छ। टिनको छाना चुइने, जाडोमा चिसो तथा गर्मीमा असहज हुने अवस्था रहेको भवनमा प्रहरीहरू बस्न बाध्य छन्।

प्रहरी चौकी बुअका प्रहरी हवल्दार दुर्गा बहादुर डाँगीका अनुसार, भवन त छ, तर बस्नलायक छैन। एकतले चार कोठे यो भवनमा पानी पर्दा भित्रै चुहिन्छ, हिउँदमा सित पर्छ, गर्मीमा पोल्छ।

चौकीका नाममा जग्गा भए पनि नयाँ भवन निर्माणका लागि अहिलेसम्म नेपाल सरकारले कुनै सहयोग गरेको छैन। राजनीतिक दलका नेता तथा जनप्रतिनिधिहरूले पनि प्रहरी बसोबासका लागि कुनै पहल नगरेको डाँगी बताउँछन्।

बाहिरी रूपमा हेर्दा भवन ठिक देखिए पनि भित्री भाग अत्यन्तै जोखिमपूर्ण छ। नागरिकको सुरक्षा गर्ने प्रहरी आफैं जोखिममा बसेर सेवा दिन बाध्य छन्। अपराधीलाई पक्राउ गरेपछि चौकीमा राख्न, सुताउने वा सुरक्षित स्थानमा राख्ने व्यवस्था छैन, जसका कारण रातभर पहरा दिनुपर्ने अवस्था छ।

बुअ प्रहरी चौकीले हिमा गाउँपालिकाको वडा नम्बर ४ र ५ हेर्दै आएको छ। यहाँका घटनास्थलमा पुग्न पहाड तथा दुर्गम बाटो पार गर्नुपर्छ। सबै गाउँमा सडक भए पनि प्रहरी चौकीसँग यातायातको साधन नभएका कारण घटनास्थलमा छिटो पुग्न कठिनाइ भइरहेको छ। प्रहरी चौकीको अवस्था सुधार गर्न सरोकारवाला निकायले चासो दिन आवश्यक छ।

साताकाे चर्चित
सम्बन्धित