शुक्लाफाँटा नगरपालिकाको जङ्गली जनावर प्रभावित क्षेत्रमा मेसवायर (तारजाली) जडान सुरु गरिएको छ। पाँच दशमलव ८८ किलोमिटर क्षेत्रमा मेसवायर जडान गरिने भएको हो।
नगरपालिकाको वडा नं ८ र वडा नं १२ लाई जङ्गली जनावर प्रभावित क्षेत्रका रूपमा चिनिन्छ। यी वडामा हात्ती, निलगाई, चित्तल, बँदेललगायत जङ्गली जनावरले किसानका बालीनालीमा क्षति पुर्याउने गरेका छन्। मेसवायर जडानपछि जङ्गली जनावरको आतङ्क कम हुने अपेक्षा गरिएको छ।
नगरपालिकाका पूर्वाधार विकास शाखा प्रमुख दीपक धामीका अनुसार मेसवायर जडानका लागि नगरपालिकाले सुदूरपश्चिम प्रदेश सरकारसँग लागत साझेदारी गरेको छ। प्रदेश सरकारले रु ७५ लाख र नगरपालिकाले रु ७५ लाख गरी कुल रु एक करोड ५० लाखको लागतमा मेसवायर जडानको काम अगाडि बढाइएको हो।
नगरपालिकाले रु ९५ लाखमा पशुपति एण्ड भुवनेश्वरी सप्लायर्ससँग ठेक्का सम्झौता गरेको छ। हालसम्म जडान कार्यको ५१ प्रतिशत प्रगति भएको छ। वडा नं १२ मा ६० प्रतिशत काम पूरा भइसकेको छ भने वडा नं ८ मा एक किलोमिटर मेसवायर जडान गरिएको छ।
नगरपालिकाले आगामी दुई महिनाभित्र सम्पूर्ण मेसवायर जडान कार्य सम्पन्न गर्ने लक्ष्य लिएको छ। मेसवायर जडान भएपछि हात्ती, चित्तल, बँदेललगायत जनावरले बालीनालीमा पुर्याउँदै आएको क्षति कम हुने विश्वास गरिएको छ।
वडा नं १२ का स्थानीय गेंदुराम रानाले मेसवायर जडानले जङ्गली जनावरको आतङ्क रोकिने विश्वास व्यक्त गरे।
शुक्लाफाँटा नगरपालिकाको वडा नं ७ र ६ मा विभिन्न दातृ निकायको सहयोगमा पहिल्यै मेसवायर जडान गरिएको छ। अब वडा नं ५, ४, ३, २ र १ मा पनि मेसवायर जडानका लागि प्रक्रिया अगाडि बढाइएको छ।
नगरपालिकाको उत्तर, दक्षिण र पश्चिमतर्फ शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा पूर्वतर्फ लालझाडी संरक्षण क्षेत्र र सामुदायिक वन जोडिएको छ। चारैतिर वनले घेरिएको कारण नगरपालिकाका सबै वडामा जङ्गली जनावरको प्रभाव देखिन्छ।
नगरपालिकाले जनावर नियन्त्रणका लागि साइरन र बत्ती जडानको व्यवस्था गरिसकेको छ। मेसवायर जडान भएपछि स्थानीय किसानहरूले ठूलो राहत पाउने अपेक्षा गरिएको छ।