बन्दीपुर गाउँपालिका–१ का दामोदर ढकालले २०६४ सालदेखि व्यावसायिक तरकारीखेती गर्दै आएका छन्। हाल ५० रोपनी जमिनमा खेती गरिरहेका उनले वार्षिक रु १५ लाखसम्म आम्दानी गर्दै आएका छन्।
बाइस वर्षअघि कास्कीबाट बन्दीपुर बसाइँ सरेका ढकालले सुरुमा अरूको मेलापात गरेर जीविकोपार्जन गर्नुपर्यो। केही वर्ष गाउँमै श्रम गरेपछि कामको खोजीमा भारत पुगे। त्यहाँ करिब १० वर्ष बिताएपछि पुनः गाउँ फर्के। त्यसपछि भने उनले गाउँमै केही गर्ने अठोट गरे। निरन्तरको मेहनत र लगनशीलताले उनले आफ्नो जीवन बदल्न सफल भए।
सुरुवातमा दुई–तीन रोपनीमा मात्र खेती गरेका ढकालले हाल आफ्नो व्यवसायलाई ५० रोपनीसम्म विस्तार गरिसकेका छन्। उनले बाह्रैमास टनेलमा गोलभेँडा तथा अन्य मौसमी तरकारी खेती गर्छन्। केराउ, काउली, फर्सी, करेला, घिरौँला, खुर्सानीजस्ता तरकारी सधैं फल्ने गरेका छन्। पछिल्लो समय उनले तरकारीका साथै बिरुवा उत्पादन पनि गर्न थालेका छन्, जसबाट थप आम्दानी गर्न सकेका छन्।
तरकारीखेती गरिरहेको सबै जग्गा उनको आफ्नै भने होइन। उनले वार्षिक रु २ लाख तिरेर ५० रोपनी जग्गा भाडामा लिएका छन्। राम्रो आम्दानी भएपछि उनले थप १० रोपनीमा व्यवसाय विस्तार गर्ने योजना बनाएका छन्। “बन्दीपुर, डुम्रे, दमौली तथा पोखराबाट समेत व्यापारीहरू तरकारी लिन आउँछन्। वार्षिक रु ८० लाख बराबरको कारोबार हुन्छ, जसबाट रु १५ लाख बचत हुन्छ,” उनले सुनाए।
यस व्यवसायबाट उनले आफ्नो परिवारको लालनपालन मात्र गरेनन्, छोराछोरीलाई राम्रो शिक्षा पनि दिए। “तरकारी खेतीबाट राम्रो आम्दानी भएकाले छोराछोरीलाई स्नातक तहसम्म पढाउन सफल भएँ। यदि विदेश गएको भए यति सम्भव हुन्थ्यो कि हुन्थेन, थाहा छैन,” उनले सुनाए।
हाल उनकी छोरी विदेशमा छिन् भने छोरा शिक्षक पेशामा छन्। ढकालले रु ३० लाख खर्चेर पक्की घर बनाए। आफ्नै नाममा दुई रोपनी जग्गा जोडे। व्यवसायका लागि बोलेरो जिप, मोटरसाइकल र स्कुटरसमेत किनेका छन्।
बन्दीपुर गाउँपालिका र कृषि ज्ञान केन्द्रले व्यवसाय विस्तारमा सहयोग गरेका छन्। तीन वर्षसम्म टनेल प्रविधिको लागि अनुदान पाएका उनले हालसम्म रु १० लाख बराबरको सरकारी सहयोग प्राप्त गरेका छन्। “कृषि अध्ययनका लागि भारत भ्रमणमा जान पाउँदा व्यवसायीका रूपमा खुसी महसुस गरें,” उनले सुनाए।
ढकाल भन्छन्, “नेपालको समृद्धिको आधार कृषिकर्म हो। हाम्रो उर्वरभूमिमा लगनका साथ पसिना बगाउने हो भने विदेश जानै पर्दैन।” उनी थप्छन्, “यदि म निराश भएको भए आजको यो सफलता सम्भव थिएन। आफ्नो देशमा बसेर नै घर, परिवार, समाजसँग रमाउन पाइने आनन्द नै बेग्लै हुँदो रहेछ।”