विदेशबाट फर्किएर इटहरीका मनराज पुरीको सफल व्यावसायिक यात्रा
विदेशबाट फर्किएर इटहरीका मनराज पुरीको सफल व्यावसायिक यात्रा
    • बेल संचार

    • २३ फाल्गुन २०८१, शुक्रबार

धरान ।

वैदेशिक रोजगारीबाट स्वदेश फर्किएपछि इटहरी उपमहानगरपालिका–१९ का मनराज पुरीले व्यावसायिक पशुपालन र मौरीपालन गर्दै आत्मनिर्भर बनेका छन्। आठ वर्षसम्म साउदी अरेबिया र मलेसियामा काम गरी फर्किएका पुरीले स्वदेशमा गरेको सानो लगानी अहिले ठूलो आम्दानीको स्रोत बनेको छ।

१७ वर्षको उमेरमा बाबुआमा गुमाएका पुरीले विदेशमा दुःख गरेर कमाएको पैसा आफ्नै देशमा लगानी गर्ने सोच राखे। गाई र बाख्रापालनबाट व्यवसाय सुरू गरेका उनले पछिल्लो समय मौरीपालनमा ध्यान दिइरहेका छन्।गाईबाख्रापालनमा संलग्न पुरीले दैनिक ४० देखि ५० लिटर दूध स्थानीय बजार, होटल र डेरीमा बिक्री गर्दै आएका छन्। पशुपालनबाट वार्षिक आठदेखि नौ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको उनी बताउँछन्।

गाईका लागि आवश्यक घाँस आफ्नै बारीमा उत्पादन हुने भएकाले बाहिरबाट खरिद गर्न नपरेको उनको भनाइ छ। पुरीले व्यवसाय सुरू गर्दा दुई जना कामदारलाई रोजगारसमेत दिएका थिए।एक वर्षअघि चार घार मौरीबाट मौरीपालन थालेका पुरीसँग अहिले ४० भन्दा बढी मौरीघार छन्। मौरीपालनबाट राम्रो आम्दानी हुने देखेपछि उनले यसलाई प्राथमिकतामा राख्दै व्यवसाय विस्तार गरिरहेका छन्।

पुरीका अनुसार एक घार मौरीबाट एक पटकमा छ केजीसम्म मह उत्पादन हुने गरेको छ। उनले इटहरीकै स्थानीय बजारमा प्रतिकेजी ७५० देखि १,००० रुपैयाँसम्ममा मह बिक्री गर्दै आएका छन्।गाउँमै उत्पादन गरिएको अग्र्यानिक मह बिक्री गरी राम्रो मूल्य लिन सकिने पुरीको अनुभव छ। मौरीपालन कम लगानीमा सुरू गर्न सकिने व्यवसाय भएकाले अन्य किसानलाई पनि यसतर्फ आकर्षित गराउन सकिने उनको विश्वास छ।

पुरीले सरकारबाट आवश्यक तालिम, अनुदान र आधुनिक प्रविधि उपलब्ध भएमा मौरीपालनबाट दिगो आम्दानीको सम्भावना अझ बढ्ने बताउँछन्।

स्वदेशमै मेहनत गरेर आत्मनिर्भर बनेका पुरीले अन्य युवालाई पनि आफ्नै देशमा व्यवसाय सुरू गर्न प्रेरणा दिएका छन्।

साताकाे चर्चित
सम्बन्धित