विदेशबाट फर्किएर स्वरोजगार बनेका सुरकुमार राई, वार्षिक १२ लाख आम्दानी
विदेशबाट फर्किएर स्वरोजगार बनेका सुरकुमार राई, वार्षिक १२ लाख आम्दानी
    • बेल संचार

    • २८ फाल्गुन २०८१, बुधबार

सुनसरी ।

रोजगारीका लागि विदेश जाने युवाहरूको संख्या दिन प्रतिदिन बढ्दो छ। तर, केही युवाहरू विदेशबाट फर्किएर स्वदेशमै व्यवसाय सञ्चालन गर्दै सफल उद्यमी बन्दै गएका छन्। त्यस्तै उदाहरण हुन् रामधुनी नगरपालिका–२ कालीझोडाका किसान सुरकुमार राई।

११ वर्ष विदेशमा श्रम गरेर फर्किएका राईले रु ३० हजार लगानीमा सुरु गरेको सागसब्जी खेतीबाट अहिले वार्षिक १२ लाखसम्म आम्दानी गर्दै आएका छन्। २०७६ सालमा ‘रामधुनी कृषि फार्म’ दर्ता गरेर उनले १२ कट्ठा जमिनमा गोलभेँडासहित अन्य सागसब्जीखेती गरिरहेका छन्।

राईका अनुसार उनले मलेसिया र सिंगापुरमा आर्जन गरेको रकमलाई खेतीमा लगानी गरेका हुन्। उनको बारीमा गोलभेँडासँगै बोडी, सिमी लगायतका तरकारी उत्पादन हुँदै आएको छ। अहिले उनको फार्ममा तीन जना स्थायी कामदार कार्यरत छन्, भने गोडमेल र मल हाल्ने मुख्य सिजनमा १० जनासम्म कामदार राख्ने गरेका छन्।

राईले उत्पादन गरेको तरकारी बजारसम्म लैजानु नपर्ने बताएका छन्। उनले भने, “बजारको समस्या छैन, व्यापारीहरू नै फार्ममा आएर खरिद गरेर लैजानुहुन्छ। धरान, इटहरी, गाईघाट, दमक, बराहक्षेत्रबाट व्यापारीहरू गोलभेँडा किन्न आउनुहुन्छ।”

मङ्सिरदेखि पुससम्म गोलभेँडाको मूल्य प्रतिकिलो रु ४५ देखि ६० सम्म रहेको भए पनि अहिले बजारमा मूल्य घट्दा रु १० देखि १५ मा बिक्री गर्नुपरेको उनले बताए। प्लास्टिक टनेल प्रविधि अपनाएपछि उत्पादन वृद्धि भएको अनुभव उनले सुनाए।

गोलभेँडाखेती थालेको पहिलो वर्ष नै स्थानीय सरकारले उनलाई उत्कृष्ट किसानको रूपमा सम्मान गरेको थियो। त्यसयता उनले कहिल्यै पछाडि फर्कनु परेन। अहिले एक सिजनमा उनले ३,००० क्विन्टलसम्म गोलभेँडा उत्पादन गर्छन्, जसले दैनिक १४ क्विन्टलसम्म बिक्री हुने गर्छ।

स्थानीय सरकारबाट बीउ र मल अनुदानस्वरूप प्राप्त हुँदै आएको छ। कृषि ज्ञान केन्द्रले २०७७ सालमा दिएको रु ७ लाख अनुदानले गोलभेँडाखेती विस्तार गर्न मद्दत पुगेको उनले बताए। साथै, कीरा नियन्त्रणका लागि उचित तालिम पाउन सके व्यावसायिक रूपमा खेती गर्न अझ सहज हुने उनको भनाइ छ।

जिल्लामा हाल ८,१५३ हेक्टर क्षेत्रफलमा सागसब्जीखेती भइरहेको कृषि ज्ञान केन्द्रका सूचना अधिकृत प्रवीणलाल श्रेष्ठले जानकारी दिए। रामधुनी र वराहक्षेत्रका किसानहरूले गोलभेँडा, बन्दाकोबी, बोडी खेती गर्दै आएका छन्। सरकारी सहयोग र सही प्रविधिको प्रयोगले स्वदेशमै सफल उद्यमी बन्न सकिने प्रमाण राईले प्रस्तुत गरेका छन्।

साताकाे चर्चित
सम्बन्धित